१८ विधेयक पारित, छ वटा समितिमा : सभामुख
काठमाडौं, असोज २ः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्को वर्षे अधिवेशन समापन गर्दै यो अधिवेशनमा बजेटसहित १८ वटा विधेयक पारित भएको जानकारी दि....

काठमाडौं, असोज २ः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्को वर्षे अधिवेशन समापन गर्दै यो अधिवेशनमा बजेटसहित १८ वटा विधेयक पारित भएको जानकारी दिएका छन्।
बैठक समापनका दिन मन्तव्य दिँदै सभामुख महराले भने, ‘यस अधिवेशनमा संघीय संसदबाट कूल १८ वटा विधेयकहरु पारित भएका छन्।’
प्रतिनिधिसभाको बैठक ०७६ वैशाख १६ सुरु भई जम्मा १४४ दिन चालु रहेको, जसमध्ये ६० दिनमा ६५ पटक बैठक बसी जम्मा १९३ घण्टा ४० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भएको बताए। दुवै सदनको संयुक्त बैठक २ पटक बसी ४ घण्टा ५ मिनेट समय व्यतित भएको उनले जानकारी दिए।
२०७६ वैशाख २० गतेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन्। वैशाख २४ गते उक्त नीति तथा कार्यक्रम बहुमतबाट पारित भयो।
वैशाख २७ गते ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ छलफलका लागि पेश भएको र वैशाख २९, ३० र ३१ गते सभामा छलफल भएको थियो।
०७६ जेठ १५ गतेको बैठकमा बजेट पेश भएको थियो। विनियोजन विधेयक, २०७६ माथि जेठ २८ देखि असार ५ सम्म सदनमा दफावार छलफल र मन्त्रीहरुबाट जवाफ दिई बहुमतबाट पारित भएको थियो।
अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छन् र ५ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छ। ४ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन्।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइसकिएको छ। दर्ता भएका विभिन्न १९ वटा विधेयक मध्ये ८ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ६ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ।’
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइसकिएको छ र ३ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ।
साथै सम्माननीय राष्ट्रपतिबाट आएको सन्देश सहित प्राप्त भएको ‘राहदानी विधेयक, २०७५’ संघीय संसदको दुवै सदनबाट संशोधन सहित पारित भएको छ।
त्यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ७ वटा विधेयकहरु मध्ये २ वटा विधेयक सभाबाट पारित भइसकेको छ भने ५ वटा विधेयकहरु सम्बन्धित समितिमा विचाराधीन रहेको छ।











