बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले त्यागे एमाले
काठमाडौं, फागुन ४ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले त्यागेको घोषणा गरेका छन्।उनी गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। उनले आज...
काठमाडौं, फागुन ४ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले त्यागेको घोषणा गरेका छन्।
उनी गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। उनले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर एमाले छाडेको घोषणा गरेका हुन्।
पार्टीभित्र सामन्तवादी सोच, चाकडी, चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति, नातावादजस्ता क्रियाकलाप मौलाउँदै गएको उल्लेख गर्दै पार्टीको सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्।
उनी एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदका दाबेदार थिए। तर अध्यक्ष छनोट गर्दा आफूसँग पार्टीले कुनै छलफल नगरेको गुनासो उनले विज्ञप्तिमा गरेका छन्।
‘म बलेफी गाउँपालिकाको पार्टीको इञ्चार्ज भए पनि मसँग कुनै सरसल्ला नगरेर एकलौटी रूपमा जिल्ला सदस्यहरूको नाम फाइनल गरियो। बलेफी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गराउँदासमेत पार्टीलाई सधै चुनावमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रका नेताहरूमाथी गम्भीर अन्याय भएको छ,’ म आफैं इन्चार्ज भए पनि यो सबै टुलुटुलु हेर्न बाध्य भएँ।’
पार्टीको शपथ ग्रहणमा आफूलाई केन्द्रीय सदस्य सरेश नेपालले अपमानित गरेको पनि उनले उल्लेख गरेका छन्। ‘राजनीतिक रूपमा यसरी सधैं अपमानीत भएर बस्न सक्ने अवस्था रहेन,’ उनले विज्ञप्तिमा लेखेका छन्।
उनले एमाले त्यागेर अर्को कुन पार्टीमा जाने केही उल्लेख गरेका छनन्। तर सक्रिय राजनीति भने नछाड्ने उनको भनाइ छ। उनी एमालेको वाग्मती प्रदेश कमिटी सदस्य थिए।













