राजेन्द्र महतोले भने- भोलि दीपावली होइन ब्ल्याक आउट हुन्छ
काठमाडौं, असोज २ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान दिवसमा भोलि ७० प्रतिशत जनताले दीपावली नभई ब्....
काठमाडौं, असोज २ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान दिवसमा भोलि ७० प्रतिशत जनताले दीपावली नभई ब्ल्याक आउट गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद महतोले भने,‘भोलि सरकारले संविधान दिवस मनाउँदै छ रे। तर, ७० प्रतिशतभन्दा बढी जनताले भोलि दीपावली होइन ब्ल्याक आउट गर्छन्।’
महताले संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर नै नआएको बताए। ‘मधेसी, आदिवासी जनताजातिका माग सम्बोधन भएका छैनन्। जनता अझै संविधानको विरोधमा छन्,’ उनले भने,‘ सरकार भने बडो राम्रो संविधान बनाएको छु, बहादुरी गरेको छु भनेर आफ्नै पिडँ थम्थमाएर बस्ने?’
संविधान दिवसका अवसरमा सरकारले दीपावली गर्न उर्दी जारी गरेको आफूले सुनेको भन्दै महतोले प्रश्न गरे–सभामुख महोदय भोलि सबैले संविधान दिवस मनाउँछन् त?
उनले संविधान संशोधनको माग गर्ने मधेसी, आदिवासी, थारु सबैलाई राष्ट्रघाती भनियो आरोप लगाए। ‘हिजो मधेसीलाई राष्ट्रघाती भनियो। अब थारु र पहाडका आदिवासीले पनि संविधान दिवस नमनाउने रे। अब तिनीहरुलाई पनि राष्ट्रघाती भन्नुस्,’ महतोले प्रश्न गर्दै भने,‘सबै राष्ट्रघाती भए राष्ट्रवादी को हो त?
उनले सरकारमा रहेका सबै दलले पनि संविधान दिवस मनाउने अवस्था नरहेको बताए। ‘हामी प्रतिपक्षीले त मनाइनौं ठीकै छ,’ महतोले प्रश्न गरे,‘तपाईँको सरकारमा रहेका दल सबैले संविधान दिवस मनाउँछन् त?’
सरकारमा रहेका पार्टी, मन्त्री र नेताहरुले भोलि संविधान दिवस मनाउँछन् कि मनाउँदैनन् भनेर उनले प्रश्न पनि गरे।
‘तपाईँको सरकारमा रहेको पार्टीले संविधान दिवस नमनाउने, तपाईँको उपप्रधानमन्त्री उपेन्द्र यादवजीले संविधान दिवस नमनाउने,’ उनले भने,‘पुरै सरकार आफै संविधान दिवस मनाउने अवस्थामा छैन। अनि पिडँ थम्थमाउने?’
उनले कस–कसले संविधान दिवस मनाउँछन् त्यसको लेखाजोखा सरकारले राख्नु पर्ने बताए।






