संसदमा देउवाको प्रश्न- प्रधानमन्त्रीजी तपाईंको राज्यमा को सुरक्षित छ?
काठमाडौं, असोज २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जिउधनको रक्षा नगरेर सरकारले आफैँ राज्य आतंक मच्याउ....
काठमाडौं, असोज २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जिउधनको रक्षा नगरेर सरकारले आफैँ राज्य आतंक मच्याउन खोजिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले जनताको जिउधनको सुरक्षा गर्ने काममा नलागेर आफै राज्यमा आतंक मच्याउन खोजिरहेको आरोप लगाएका हुन्।
देउवाले आफ्नो पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेको खजुरामा बाँके सभापति किरण कोइराला लगायत नेता कार्यकर्तामाथि सत्तासीन दल नेकपाका कार्यकर्ताले आक्रमण गर्दा पनि दोषीलाई कारबाही नभएको आक्रोश पोखे।
७७ वर्षीया सभापति कोइरालाको सम्मान गर्नु पर्ने ठाउँमा आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गरे–प्रधानमन्त्रीजी तपाईंको राज्यमा को सुरक्षित छ?’
उनले भने,‘७७ वर्ष उमेरकी सभापति कोइरालामाथि आक्रमण गरेर उहाँको हात नै भाँच्ने काम भएको छ। उहाँलाई सम्मान र सुरक्षा दिनु पर्ने आक्रमण हुनु दुःखद छ। सरकार जनताको सुरक्षाभन्दा राज्य आतंक मच्याउन खोज्दैछ।’
उनले कोइरालामाथि आक्रमण भएको एक साता वितिसक्दा पनि दोषीमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै आलोचना गरे।
संविधानले विना हातहतियार भेला हुन, बोल्न, लेख्न र कार्यक्रम गर्न पाउने स्वतन्त्रता दिएको भन्दै देउवाले शान्तिपूर्ण रुपमा हलभित्र चलिरहेको कार्यक्रममाथि नै आक्रमण हुनु राम्रो नभएको बताए।
सरकारलाई चेतावनी दिँदै उनले प्रश्न गरे–‘हलभित्र कार्यक्रम गर्न नदिने हो भने भोलि यस्तै कसैले गरे के हुन्छ? यस्तै घटना फेरि कसैले घटायो भने देश कता जान्छ?’
सभापति देउवाले स्वतन्त्रपूर्वक लेख्न, बोल्न र हिँडडुल गर्नकै लागि पञ्चायत, राणा शासन र राजा ज्ञानेन्द्र शाह हटाइएको स्मरण गराए।
‘हलभित्र प्रवेश गरेर कार्यक्रम विथोल्ने, आक्रमण गर्ने र हात भाँच्नेसम्मको काम भएको छ,’ देउवाले भने,‘ के यसकै लागि हो हामी लडेको?’
देउवाले प्रजातन्त्रको खिलापमा अराजक गतिविधि भए आफूहरुलाई सैह्य नहुने चेतावनी दिए। ‘प्रजातन्त्रको खिलापमा काम भइरहेका छन्। सरकार आफै संविधान विपरीत काम गरिरहेको छ। अब प्रजातन्त्रका लागि फेरि लड्नु पर्ने बेला आएको छ,’ उनले भने।
उनले सरकारले प्रहरी र कर्मचारीलाई पार्टीको कार्यकर्ताजस्तै बनाउन खोजेको आरोप लगाए। ‘सरकारी कर्मचारी वा प्रहरीलाइए कुनै पार्टीले तलब खुवाउने होइन। जनताको करबाट सेवा, सुविधा र तलब खानेले जनताको हितमा काम गर्ने र उनीहरुको सुरक्षा गर्ने हो,’ देउवाले भने,‘कनुै पार्टीको कार्यकर्ता जस्तो बन्ने होइन।’






