Kathmandu Press

पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

गलेश्वर, फागुन ४ :  पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली...
पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

गलेश्वर, फागुन ४ :  पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला । केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक चर्चा हुने गरेको छ। 

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको सुन्दरता अहिले सामाजिक सञ्जालभरि छाएको छ । अवलोकन र कृषि पर्यटनका लागि सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहासिक  र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौँदेखि प्राकृतिक सुन्दरताका पारखीलाई कुरेर बसेको छ । त्यो ठाउँ हो धवलागिरि हिमालको प्रतिविम्ब देखिने ऐतिहासिक बूढोपोखरी ।

Hardik ivf

बूढोपोखरीको इतिहास तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहसँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा अनुसार सो पोखरी निर्माण गर्न लगाएको प्रमाण छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको बताइन्छ ।

धवलागिरि क्षेत्रभित्र प्रशस्तै प्राकृतिक पोखरी भए पनि रत्नेचौरको बूढोपोखरीभन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो चर्चित छ । तत्कालीन समयमा खानेपानी समस्याले आजित भएका स्थानीयवासीले निकै मेहेनत गरेर यो पोखरी बनाएका रच्नेचौरको विकासका लागि खटिरहनुभएका भानु माध्यमिक विद्यालयका प्राचार्य भरत खत्रीले बताए। 

रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहास छ । ठूलो सङ्ख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार थप गर्न थालिएको छ । पोखरीको पनि अहिले नयाँ स्वरुपमा मर्मतसम्भार गरिएको छ ।

अहिले पोखरीमा पानी भरिएको छ । घाम लागेका बेलामा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब पोखरीमा देखिने गर्छ । त्यतिबेला यहाँको सौन्दर्य अत्यन्तै चित्ताकर्षक हुने गरेको स्थानीयवासी रमेश बोगटीले बताए। बेनी–बागलुङ सडकखण्डको छेऊमै रहेकाले त्यस सडकबाट ओहोरदोहोर गर्ने यात्रु पोखरीमा पुगेर फोटो खिच्ने गर्छन् । पोखरीको प्रचार हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बूढोपोखरी ओझेल परेको प्रअ खत्रीले बताए।

‘पर्यटकलाई पोखरीले आर्कषित गरेको छ, आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौँ,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने। विगतमा पोखरी मर्मत तथा केही पूर्वाधार थपिएको सुनाउँदै उहाँले थप संरचना निर्माण गर्न बजेट माग गरिएको बताए । ‘पुरानो इतिहास देखाउँदै नयाँ संरचना बनाउन जुटेका छौँ,’ खत्रीले भने । पोखरीबाटै धवलागिरिसहितको हिमशृङ्खला तथा त्यस आसपासका रमणीय दृश्य देख्न सकिन्छ । रत्नेचौरमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ भने क्षेत्रीय स्तरको खेलमैदान, कालोपत्र सडकलगायत पूर्वाधार छ।  

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्