‘बुटवलको विकासको नमूना अनुशरण गर्न लायक’
रूपन्देही, फागुन ३ : नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले बुटवल उपमहानगरपालिकाको विकासको नमूना नेपालका अन्य नगरपालिकाले समेत अनुशरण गर्नुपर्ने बताएका छन्। बुटवलले...
रूपन्देही, फागुन ३ : नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले बुटवल उपमहानगरपालिकाको विकासको नमूना नेपालका अन्य नगरपालिकाले समेत अनुशरण गर्नुपर्ने बताएका छन्। बुटवलले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, ब्यापारलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको उनको भनाइ थियो।
बुटवल उपमहानगरपालिकाले ६३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सचिव विश्वकर्माले बुटवल मुलुककै नमूना नगरको रुपमा चिनिएको बताए। बुटवललाई समृद्ध बनाउने गरी तय गरिएका योजना साकार हुँदै गएको उनले उल्लेख गरे। पाँचौँ पटक पनि निरन्तर कार्यसम्पादन मूल्याङ्कमा नेपालकै पहिलो स्थानमा आउनु आफैमा गौरवको विषय भएको र बृहत् बुटवलको अवधारणा महत्वपूर्ण रहेको नेता विश्वकर्माको भनाइ थियो।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैँमा गौरवपूर्ण इतिहास बोकेको सहर भएको उल्लेख गर्दै इतिहासलाई साक्षी राखेर विकासको पथमा निरन्तर अघि बढ्दै गएको बताए। उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउने गरी काम गरिएको उल्लेख गरे।












