तमोर नदीमा काठेपुल बनेसँगै गाउँ–गाउँमा पुग्यो गाडी, स्थानीयवासी उत्साहित

फुङ्लिङ, फागुन ३ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ।
फक्ताङ्लिङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ। तमोर नदीको दुई किनारमा यो गाउँपालिका विभाजित भएको छ। वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ। यस्तै वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ। एक गाउँबाट अर्को गाउँ आवत–जावत गर्न तमोर नदी तर्नुपर्दछ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ। गाउँ—गाउँमा साडक सञ्जालले जोडिए पनि मोटरेवल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको जनाएको छ। सो पुल निर्माण भएपछि अहिले गाउँगाउँमा यातायात सेवा पुगेको गाउँपालिकाले जनाएको छ। यसअघि पक्की मोटरेवल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए।
पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत चार वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गरेर गाउँ–गाउँमा गाडी पुर्याउँदै आएको छ। घर–आङ्गनमा गाडी आइपुग्दा स्थानीयवासी निकै खुसी भएका छन्। तमोर नदीमा तीन वर्षदेखि चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पुर्याइरहेको फक्ताङलुङ गाउँपालिकाले यो वर्ष फक्ताङलुङ–१ सावादिन र पक्ताङलुङ–३ लिखिम जोड्ने तमोर नदीमा तीन लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको छ। यो पुल सञ्चालमा आएपछि फक्ताङलुङ गाउँपालिकाको वडा नं १ र २ का ९०१ घुरधुरीका परिवारले यातायातको सेवा पाएका छन्। फलस्वरुप आवश्यक खाद्यान्न सामग्री ढुवानी गर्नेदेखि दैनिक आउँजाउँ गर्न निकै सहज भएको स्थानीयवासीको भनाइ छ।
फक्ताङलुङ–५ छिरुवा र फक्ताङलुङ–४ इखाबु गाउँ जोड्ने तमोर नदीमा पनि रु ३ लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल निर्माण भएको छ। यो पुल सञ्चालनमा आएपछि फक्ताङलुका इखाबु गाउँका ४२२ घरधुरीका परिवारले प्रत्यक्ष लाभावित भएका छन्। फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकदेखि फक्ताङलुङ–६ साँघु जोड्ने तमोर नदीमा स्थायी मोटरेवल पुल गाउँपालिकाले स्थापना गरेको छ। यो पुल सञ्चालन भएपछि साँघु गाउँको र फेम्बु अन्य गाउँका ३ सय घर–परिवारले यातायात सेवाबाट प्रत्यक्ष लाभ लिने भएको छ। तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र फक्ताङलुङ–७ ओलाङचुङ गोलाका गरी २९९ घर–परिवारले प्रत्यक्ष यातायातको सेवाबाट लाभ लिने भएका छन्।
स्थानीय सरकारको अनुभूति दिलाउन प्रत्येक गाउँमा गाडी पुर्याउन आवश्यक बजेट विनियोजन गरेर तमोर नदीमा तीन लाख ७५ हजार रूपैयाँका दरले कुल १५ लाख रूपैयाँको लागतमा चार वटा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको फक्ताङलु गाउँपालिका अध्यक्ष सरोज लिम्बुले बताए।
स्थानीय सरकारको अनुभूति दिलाउन फक्ताङलुङ गाउँपालिकाले पक्की मोटरेवल पुल निर्माण नभएसम्म प्रत्येक गाउँ—गाउँसम्म गाडी पुर्याउनका लागि तीन वटा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको गाउँपालिका प्रवक्ता छेतेन लामाले बताए।












