टेन्डी शेर्पा बास्केटबल : कीर्तिपुर नगरपालिकाकाे विजयी सुरूवात
काठमाडाैं, फागुन २ : कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सुरुआत गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काठमाडाैं, फागुन २ : कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्यो। कीर्तिपुरले चारै क्वाटरमा अग्रता लियो।
कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउदै विजयी सुरुआत गरेको हो। कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ अंक योगदान गरे।
त्यस्तै पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो। शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे।
पहिलो क्वाटरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । ड्रिम टिमले दोश्रोमा २३–१३, तेश्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जित दर्ता गर्यो।
पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोश्रोमा ९–९ को बराबरीमा रोकियो। तेश्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो। चौथो तथा अन्तिम क्वाटर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो।
फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन्।











