Kathmandu Press

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर, असोज २ : देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ। भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु....

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि
फाइल

भक्तपुर, असोज २ : देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ। भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए। यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने बताए। 

भक्तपुरमा डेंगु सङ्क्रमण नियन्त्रण बाहिर जाँदै गरेको प्रतिक्रिया दिँदै कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको बताए। यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु सङ्क्रमितको पहिचान भएको थियो।

कार्यालयका अधिकृत न्यौपानेका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ। जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएको बताइएको छ। 

मानव बस्तीको बीचबीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने भएकाले डेंगु नियन्त्रण गर्न डेंगु फैलाउने लामखुट्टेको खोज र नष्ट गरौं अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले बताए।

उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रम भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहर नराख्ने कार्य गर्नुपर्ने बताए। रासस

प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, असोज २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्