हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा
मध्यपुरथिमि, असोज १ : दुई दिनदेखि परेको वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको ....

मध्यपुरथिमि, असोज १ : दुई दिनदेखि परेको वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ।
मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ। स्थानीय राम मगरले हिजोदेखि परेको पानीका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेको बताउँदै पानी नरोकिए बस्तीमा पानी पसेर डुबानमा पर्ने बताए। पानीको बहाव बढेपछि बासिन्दा डरमा बसेको बताउँदै हरेक वर्ष बस्ती डुबानमा पर्ने समस्याबाट पीडित हुनुपरेको बताए।
बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई काखी च्यापेर डरले बस्नुपरेको बताइन्। मनोहरासँगै हनुमन्ते नदीमा आएको बाढीका कारण यहाँका बासिन्दा पनि डरमा बसेका छन्।
हनमुन्ते नदीमा आएको बाढीले यसअघि पनि मध्यपुरथिमि राधेराधे, बालकोट, बाराहीस्थान, जगातीलगायतका क्षेत्र डुबानमा परेकाले अहिलेको पानीले पनि बस्तीमा बाढी पस्ने डर भएको यहाँका बासिन्दाले बताएका छन्। जगातीमा अरनिको राजमार्ग हिजोदेखि नै डुबानमा परेपछि साना गाडी दुर्घटनामा परेको छ। आज पनि यो क्षेत्र दिनभरि नै डुबानमा छ। क्षति भने भएको छैन। आवतजावतमा समस्या छ।
प्रमुख जिल्ला अधिकारी नारायण भट्टले खोलामा आएको बाढी बस्तीमा पसेर डुबानमा पार्ने जोखिम बढेकाले सर्तक रहन सबैमा आह्वान गरेको बताए। उनले जिल्लाका सबै प्रहरी नियकालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीमार्फत सन्देश प्रवाह गरेको बताए। सम्भावित दुर्घटनामा मध्यनजर गर्दै बाढी, पहिरो र डुबान भएमा तत्काल उद्धार एवं आवश्यक सहयोग गर्ने टोली तयारी अवस्थामा रहेको जानकारी दिए। रासस











