Kathmandu Press

मधानी महोत्सवलाई भव्य बनाउने तयारी

मधानी महोत्सवलाई भव्य बनाउने तयारी

रौतहट, फागुन १ : रौतहटको मौलापुरमा फागुन १७ गते महाशिवरात्रिका अवसरमा आयोजना हुने तेस्रो मधानी महोत्सवलाई भव्य बनाउने तयारी थालिएको छ।

मौलापुर नगरपािलकाकी प्रमुख रिनाकुमारी साहले शनिबार पुरातात्विक महादेव मन्दिर परिसर पतौरामा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा चर्चित भोजपुरी नायक र गायक खेसारीलाल यादवको विशेष उपस्थितिमा मधानी महोत्सवलाई भव्य बनाउने तयारी नगरपालिकाले गरेको जानकारी दिइन्।  

मधानी महोत्सवको आन्तरिक तथा प्राविधिक तयारी सुरु भइसकेको नगर प्रमुख साहले बताइन्। नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा परेको मौलापुर–५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर सिम्रौनगढमा स्थापित कर्नाट राज्यभन्दा पनि पुरानो रहेको अवशेषको अध्ययनले देखाएको छ।

Hardik ivf

पुरातात्विक महादेव मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा हालै मन्दिरको अर्को संरचना पनि धरतीभित्र फेला परेको र पुरातत्व विभागले हालै उत्खनन गरेको छ। पतौराको पुरातात्विक महादेव मन्दिर र आसपासको क्षेत्रमा लिच्छवि कालकै अवशेष हुन सक्ने अनुमान गरिएको छ।

पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसारको साथै पर्यटकीय गतिविधि बढाउन मौलापुर नगरले २०७६ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महोत्सवको सुरु गरेको थियो।

एमाले नेता प्रभु साहको अग्रसरतामा मधानी महायज्ञ हुने गरेको छ। मधानी महोत्सवको अवसरमा मौलापुर स्मार्ट सिटीको भूमिपूजन, अष्टयाम यज्ञ, शिवचर्चाका साथै नेपाली र भारतीय चर्चित कलाकारको सांस्कृतिक प्रस्तुति रहने मौलापुर नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

मधानी महोत्सवमा लाग्ने मेलामा सबै किसिमका पसल, व्यवसाय, खेलतमासाका आयोजकहरुबाट कुनै किसिमको कर नलिइने भएकोले व्यापारीहरुको पनि आकर्षण बढेको छ।

पुरातात्विक महादेव मन्दिरका पूजारी मोसाफिर साहले फर्निचर मेला लगाउन फर्निचर व्यावसायीहरुले जग्गा र सुरक्षाको माग गरिरहेको बताएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आवश्यकता अनुसार जमिन र सुरक्षा नगरपालिकाले उपलब्ध गराउने बताएका छन्।  

मधानी महायज्ञमा नेपाल र भारतका करिब एक सय साधुसन्तहरुको पनि सहभागिता रहने पूजारी साहको भनाइ छ। पत्रकार सम्मेलनमा नगर उपप्रमुख गौरीशंकर साह, नगर शिक्षा शाखा प्रमुख चन्देश्वर साह, बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश साह, नेकपा एमाले रौतहट अध्यक्ष त्रिभुवन साहसहित विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्