गृहमन्त्री थापाका भाइ नरेशलाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं, असोज १ : गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेश थापालाई एक लाख रुपैयाँ धराैटीमा छाड्न अदालतले आदेश दिएको छ।
बुधबार का....
काठमाडौं, असोज १ : गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेश थापालाई एक लाख रुपैयाँ धराैटीमा छाड्न अदालतले आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले अपराधिक लाभ र संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ परेका थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको हो।
नरेशसँगै पक्राउ परेका अन्य प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ।
संगठित अपराध सम्बन्धी कसूरमा थापासँगै समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जावेद अनवर दिन, शैलेश प्रजापति, विनोद लामा, पवन खड्का, विरवल भट्टराई र मनबहादुर पुन मगरविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो।
थापालाई सुन्धारास्थित जेलमा रहेका गुण्डा नाइके समिरमान सिंह बस्न्यात समूहका पवन खड्का र सुरेन नगरकोटीसँग सम्बन्ध रहेको देखिएपछि सीआईबीको टोलीले पक्राउ गरेको थियो।
प्रहरीले थापालाई पक्राउ गरेपनि बिरामीका कारण बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको थियो। अदालतमा बयानका क्रममा थापाले घटनामा आफ्नो संलग्नता नरहेको र समिरमानसिंह बस्न्यातलाई नचिन्ने बताएका थिए। उनले जेलमा रहेका बस्न्यातलाई आफूले नभेटेको पनि दाबी गरेका थिए।
तर, बस्न्यातले भने बयानका क्रममा थापा आफूलाई भेट्न जेलमै आएको बताएका थिए।






