बैंकको चर्को ब्याजदरले २० जलविद्युत आयोजना लिलामीमा पर्ने खतरामा
काठमाडौं, असोज १ : जलविद्युत आयोजनामा बैंकहरुले ब्याजको ऋण नघटाए सबै आयोजना सरकारलाई बुझाउने लगानीकर्ताहरुले चेतावनी दिएका छन्।
....
काठमाडौं, असोज १ : जलविद्युत आयोजनामा बैंकहरुले ब्याजको ऋण नघटाए सबै आयोजना सरकारलाई बुझाउने लगानीकर्ताहरुले चेतावनी दिएका छन्।
चर्को ब्याजदरका कारण जलविद्युत आयोजनाहरु धमाधम समस्याग्रस्त हुँदै गएको भन्दै लगानीकर्ताहरुले सरकारको ध्यानकर्षण गराएका हुन्। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (ईपान) ले बुधबार राजधानीमा आयोजना गरेको छलफलमा लगानीकर्ताले आयोजनालाई रुग्णबाट मुक्त बनाउन ब्याजदर पाँच प्रतिशतमा झार्न माग गरेका हुन्।
निजी क्षेत्रका ५६० मेगावाट क्षमताका ८३ आयोजनामध्ये ६६ मेगावाट क्षमताका २० वटा आयोजनाले कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको समेत बताएका छन्। २० वटा आयोजना लिलामी गर्न लागिएको संयोजक सूर्यप्रसाद अधिकारीले बताए। ६६ आयोजनालाई उद्धार नगरिए बैंकको ३६ अर्ब र प्रवद्र्धकको १६ अर्ब गरी ५२ अर्ब रुपैयाँ लगानी डुब्ने समेत संयोजक अधिकारीले चेतावनी दिए।
अधिकारीका अनुसार ८० मेगावाटका १८ आयोजना नाजुक अवस्थामा र १३४ मेगावाटका २८ आयोजना कमजोर रहेको जानकारी दिए। यस्तै, ७७ मेगावाटका ११ आयोजना मात्र नाफामा सञ्चालन भइरहेको उनले बताए।
वैदेशिक लगानीमा बनेका २०१ मेगावाटका ६ आयोजना पनि नाफामा चलिरहेको बताए। निजी क्षेत्रबाट १३ हजार १४९ मेगावाट क्षमताका ६७० वटा आयोजनामा ७ खर्ब ७ अर्ब रुपैयाँ लगानी भएको प्रवद्र्धकको भनाइ छ। यी आयोजना सम्पन्न गर्न पाँच वर्षमा थप १२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनीहरुको भनाइ छ।
वित्तीय अवस्था खराब भएपछि सर्वसाधारणको लगानी भएका ३१ जलविद्युत कम्पनीमध्ये अधिकांशको शेयर मूल्य धेरै कम रहेको देखिएको छ। १८ वटा आयोजनाको शेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा कम छ।











