कमल थापाको प्रस्ताव- राजादेखि विप्लवसम्म अटाउने प्रजातन्त्र स्थापनाका लागि बहस चलाऔं
काठमाडौं, असोज १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि हिंसात्मक गतिविधिमा लागेको नेत्रविक....

काठमाडौं, असोज १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि हिंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द विप्लवसम्म अटाउने प्रजातन्त्र स्थापनाका लागि बहस सुरु गर्नु पर्ने प्रस्ताव अघि सारेका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले धर्मका बीचमा समानता सनातन हिन्दूराष्ट्र कायम गर्ने तथा राजादेखि विप्लव समूहसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राखेका हुन्।
‘संविधान जारी भएको चार वर्ष पूरा भएर पाँचौ वर्ष प्रवेश गर्न लागेको यो अवसरमा म राजनीतकि दल, नागरिक समाज, र आम जनतासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट एउटा गम्भीर प्रस्ताव राख्न चाहन्छु,’ उनले भने,‘ १३ वर्षको राजनीतिक अभ्यास र चार वर्षको संवैधानिक अनुभवलाई दृष्टिगत गर्दै सबै धर्मका बीचमा समानता, सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गरौं।’
उनले राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै राजनीतिक दल, नागरिक समाज र आमनागरिकलाई आग्रह गरेका छन्।
संविधान जारी भएर नयाँ संविधान बमोजिम करिब दुई तिहाइ बुहमतको सरकार गठन भइसकेको दुई वर्ष पुग्न लाग्दापनि आमजनताले सकारात्मक परिवर्तनको अनुभति गर्न नपाएको अध्यक्ष थापाको भनाइ छ।
उनले भ्रष्टाचार, बेरोजगारीको समस्या, गरिबी, धर्म परिवर्तन, सर्वसत्तावादका प्रारम्भिक संकेत, राष्ट्रिय अखण्डतामाथिको चुनौती र माओवादीको पुर्नउत्थानजस्ता समस्याहरु हाल मुलुकसामू देखा परेको पनि टिप्पणी गरे।
थापाले संविधान निर्णयार्थ प्रस्तुत हुँदा विपक्षमा मतदान गर्ने एकमात्र पार्टी तत्कालीन राप्रपा नेपाल रहेको बताए।
उनले भने,‘तर, ९० प्रतिशतभन्दा बढी बहुमतबाट संविधान पारित भएपछि जनताको सर्वोच्चता, प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै आफ्ना फरक मतलाई कायम राखेर राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको हो। संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर अघि बढ्ने नीति अवलम्बन गर्यो। संविधानमा हस्ताक्षर गरेर आफ्नो पनि स्वामित्व कायम गरेको छ। हाम्रो केही मुलभूत मान्यताहरुमा मतभेद छ। हिन्दूराष्ट्र, राजसंस्था, सुदृढ स्थानीय स्वायत्तता जस्ता विषयमा हामी अहिलेपनि प्रतिबद्ध छौं।’
आफूहरु विद्रोहको बाटो नभई संविधानकै परिधिभित्रबाट जनताको अभिमत प्राप्त गरेर प्रजातान्त्रिक ढंगबाटै गर्ने पक्षमा रहेको पनि थापाले बताए। राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारबाट बाहिर निस्किएपछि देश र जनताको हितविपरीत हुने गरी कुनै पनि किसिमका क्रियाकलापहरु भएको सार्वजनिक जानकारीमा नरहेको पनि थापाले जिकिर गरे।
‘सबैले बुझेकै कुरा हो कि–एउटा स्वतन्त्र नागरिकको हैसियतबाट देशका विभिन्न भागहरुमा भ्रमण गर्ने, जनतासँग सम्पर्क गर्ने, मठ-मन्दिरहरुमा पूजा-आरधना गर्ने, नागरिकको नैसर्गिक अधिकार हो। र, त्यो नैसर्गिक अधिकार राजा ज्ञानेन्द्रबाट निर्वाह भइरहेको छ,’ उनले भने।











