क्रिकेट : नेपाल युएईसँग पराजित
काठमाडाैं, माघ २९ : चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ।ओमानको अल अमेरात क्रिकेट मैदानमा...
काठमाडाैं, माघ २९ : चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो। एक सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए। ३३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४१ रन जोडेका हुन्।
त्यस्तै लोकेश बमले २१ बलमा ३३ रन जोडे। उनले दुई चौका र दुई छक्का प्रहार गरे। आसिफ शेखले २९ बलमा ३४ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउदा दुई चौका र एक छक्का हिर्काए। आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे।
युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए भने जुनैद सिद्धिकीले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो। युएईका लागि चिराग सुरीले अविजित सर्वाधिक ८४ रनको योगदान गरे। उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए। उनले पाँच चौका र दुई छक्का हिर्काए।
त्यस्तै मोहमद वासिमले १३ बलमा २२ रन जोडे। उनले एक चौका र दुई छक्का प्रहार गरे। मोहमद बुटाले १४ रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए। नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले चार देश सम्मिलित टी ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ।











