असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिन्छाैं: मन्त्री बाँस्कोटा
काठमाडाैं, असाेज १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम असोज महिनाभित्र आह्वान हुन ....

काठमाडाैं, असाेज १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम असोज महिनाभित्र आह्वान हुन नसकेमा मंसिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट पारेका छन्।
मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको द्वैमासिक प्रगति समीक्षा बैठकमा बुधबार मन्त्री बाँस्कोटाले त्यसरी हुन नसकेका कामको बजेट आगामी माघदेखि फिर्ता लिई अन्य काममा लगाइने बताएका हुन्।
मन्त्री बाँस्कोटाले भने,'समयमा काम हुनुपर्छ। हुन नसके के कारणले नभएको हो र माथिल्लो निकायमा पेश गर्नुपर्ने भएमा तत्काल पेश गर्नेगरी प्रभावकारी काम हुनुपर्छ। कार्यसम्पादन सम्झौतामा उल्लेख भएका कामहरु समयमा नभएमा कारवाही गरिनेछ।'
मन्त्री बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा जानुपूर्व पत्रकारिता र आमसञ्चार क्षेत्रमा क्रियाशील संस्थाहरुसँग छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए। सो विधेयक सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ।
उनले नेपाल टेलिकमका कर्मचारी काठमाडौँ उपत्यकामा धेरै तर कतिपय जिल्लामा अपुग भएकामा सन्तुलत मिलाउन र नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुगमनकार्य प्रभावकारी बनाउन निर्देशन दिए।











