सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस हुने
काठमाडाैं, असोज १ : आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भवि....

काठमाडाैं, असोज १ : आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ।
नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो।
राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, उच्च राजनीतिक नेतृत्व, सरकारी अधिकारी, सञ्चारकर्मीसँग बुधबार परराष्ट्र मन्त्रालयले राजधानीमा ‘सगरमाथा संवाद राष्ट्रिय परामर्श’ गोष्ठी आयोजना गरेको छ।
सगरमाथा संवाद निर्देशक एवं आयोजक समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समयमा विश्वमञ्चमा वातावरण, जलवायु परिवर्तन, विश्वव्यापार, अर्थतन्त्र, आतङ्कवाद, आप्रवासन, बौद्धिक सम्पत्ति, सूचना प्रविधि तथा अन्य नवीनतम प्रविधिजस्ता विषयले महत्व पाएको बताए।
“राष्ट्रिय, क्षेत्रीय एवं विश्वव्यापी, साझा चासोका त्यस्ता विषयमा गहन छलफल गरी विचारविमर्शका माध्यमबाट विश्व समुदायको ध्यान आकृष्ट गर्न, अन्तर्राष्ट्रिय समर्थन तथा सहानुभूति प्राप्त गर्न र ती क्षेत्रका समस्याहरू समाधानका निम्ति संवाद उपयोगी हुनेछ,” उनले भने। नेपालले सामना गर्नुपरिरहेका क्षेत्रीय तथा विश्वव्यापी समान चासोका मुद्दा, वातावरणीय, आर्थिक, सामाजिक–सांस्कृतिक तथा शासकीय विषयका साथै नेपालको विकासका साझेदार, अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वलगायत समाजका सबै वर्गलाई नियमित रुपमा नेपालमा संवाद गराइ मतैक्यता प्रवर्द्धन र समस्याहरूको समाधान पहिल्याउन ठोस योगदान गर्नु संवादको उद्देश्य भएको मन्त्री ज्ञवालीले स्पष्ट पारे।
सगरमाथा संवादको उद्देश्य अझ प्रष्ट्याउँदै उनले भने,“यो मञ्चको माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौँ उपायहरूमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, नेपालको समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालका सफलताहरू नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणबारे विश्व समुदायलाई बुझाउँदै साझा हितका विष्यमा बौद्धिक बहस गर्नु हो।”
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको विषयलाई आम जनसरोकारको विषय बनाउनुपर्नेमा जोड दिँदै यसका नकारात्मक असरबारे सबै नेपालीलाई बुझाउनुपर्ने बताए। विश्व समुदायकै साझा सरोकारको यो गम्भीर विषयमा गहन बहस र छलफल अपरिहार्य भएको उनको कथन थियो।
जलवायु परिवर्तनको सङ्कट सम्बोधन गर्ने दिशामा उच्च राजनीतिक नेतृत्व, तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको सङ्कटबारे समान धारणा बनाउन तथा उक्त सङ्कटसँग जुध्न राजनीतक तहलाई इच्छाशक्ति देखाउन उत्प्रेरित गर्नु सगरमाथा संवादको पहिलो संस्करणको उद्देश्य भएको मन्त्री बस्नेतले बताए।
सगरमाथा संवादको पहिलो संस्करणमा जलवायु परिवर्तनजस्तो बहुआयामिक तथा बहुक्षेत्रीय विषयअन्तर्गत परम्परागत ज्ञान, प्रविधि र संस्कृति, कृषि, खाद्य सुरक्षा, वन तथा जैविक विविधता, हरित अर्थतन्त्र, पर्यटन, ऊर्जा र जललगायत विषयमा केन्द्रित रहेर बहस एवम् छलफल हुने बताइएको छ। रासस











