सरकारले भन्यो- डेंगुको संक्रमण आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने हदमा छैन
काठमाडौं, असोज १ : सरकारले डेंगु संक्रमणका कारण आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने हदमा नरहेको बताएको छ।
बुधबार प्रतिनिधिसभा बैठ....
काठमाडौं, असोज १ : सरकारले डेंगु संक्रमणका कारण आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने हदमा नरहेको बताएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अन्य मुलुकमा जस्तो नेपालमा डेंगुको संक्रमण डरलाग्दो अवस्थामा नरहेकाले आपतकालीन अवस्थाको घोषणा गर्नु पर्ने हदमा नपुगेको बताएका हुन्।
‘साधनस्रोतले सम्पन्न मुलुकमा पनि डेंगुको संक्रमण देखिएको छ। तर, ती मुलुकको तुलनामा नेपालमा डेंगुको संक्रमण न्यून छ,’ उनले भने,‘त्यसैले आपतकालीन अवस्थाको घोषणा गर्नु नपर्ने कुरा जानकारी गराउँछु।’
स्वास्थ्यमन्त्री यादवले डेंगु नियन्त्रणका लागि अन्य मुलुकमा जस्तै नेपालमा पनि जटिलता भने देखिएको बताए। उनले डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा न्यून देखिएको बताए। ‘अरु मुलुकको तुलनामा नेपालमा यसको जटिलता कम देखिएको छ। मृत्युदर र संक्रमणबाट बिरामीको संख्या पनि न्यून छ,’ उनले भने।
उनले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण देखिएको बताए। उनका अनुसार अहिलेसम्म नेपालमा डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
उप्रधानमन्त्री यादवले प्रभावकारी खोप नभएकाले डेंगु नियन्त्रणमा लिन नसकिएको बताए। ‘मलेरिया, औंलो रोगजस्तै यसलाई नियन्त्रणमा लिन प्रभावकारी खोप छैन। त्यसैले पनि यो रोग नियन्त्रण लिन जटिलता उत्पन्न भएको छ,’ उनले भने।
उनले डेंगु रोग नियन्त्राणका लागि प्रभावकारी उपाय रोग सार्ने लामखुट्टेको नियन्त्रण गर्नु नै भएको बताए।






