‘ए’ डिभिजन लिग : फ्रेन्ड्स क्लबकाे पहिलो जित
काठमाडौं, माघ २८ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।आज (शुक्रबार) भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२...
काठमाडौं, माघ २८ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
आज (शुक्रबार) भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे। श्याम बाबु केप्छ्याकीले एक गोल थपे। ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४ औं मिनेटमा सुशीलले फ्रि–किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि–किक मार्फत गोल गर्दै ब्रिगेडलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए। निसेन सुब्बाको फ्रि–किकमा उनले हेडर मार्फत गोल गरे।
७६औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–१ को अग्रता दिलाए। प्रिजेन तामाङको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै सहजै गोल गरे।
खेलको ७८औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५–२ ले विजयी भयो।











