चितवन मेडिकल कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प
चितवन, असोज १ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ। कल....

चितवन, असोज १ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ। कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ। चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताए। शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।
मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ। यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख तोकेको बताए।
यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी ६ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ।
शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताए।
पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने बताए। कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको उनले बताए।
देशभर १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन्। सबै मेडिकल कलेजमा यस्ता समस्या रहेको छ।











-1784808429.png)