बच्चा अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
धनुषा, माघ २८ : जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई बिहीबार प्रहरीले पक्राउ...
धनुषा, माघ २८ : जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया मनीषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ।
उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनीषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत दुईवटा बच्चासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।












