चार देशीय टी-२० सिरिजमा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं, माघ २८ : चार देशीय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय...
काठमाडौं, माघ २८ : चार देशीय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो ।
यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी २० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी २० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीमध्ये समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।











