कोही पनि प्रतिभा राजनीतिक र आर्थिक भेदभावले उपेक्षित हुनुपर्दैन: प्रधानमन्त्री
काठमाडौं, १ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय विज्ञान दिवस २०७६’ को अवसरमा एक सन्देश जारी गर्दै देशका कुनै पनि प्रतिभाले राजनीतिक भेद्भाव वा ....

काठमाडौं, १ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय विज्ञान दिवस २०७६’ को अवसरमा एक सन्देश जारी गर्दै देशका कुनै पनि प्रतिभाले राजनीतिक भेद्भाव वा आर्थिक कारणबाट उपेक्षित हुनु नपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘विज्ञान, प्रविधि र नवप्रवर्तन, आर्थिक–सामाजिक रूपान्तरण’ को नारासहित मनाइँदै गरेको यस दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्नेछ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्रीको सन्देशमा ‘नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकास सम्बन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ ।
सोही अनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताए ।
सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख छ । ‘वैज्ञानिक ढंगले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्छ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए । हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुसीयालीसँग जोड्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोच बमोजिम वि.सं. २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गरे ।
‘यो लक्ष्य हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्व प्रदान गरेको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘विज्ञान र प्रविधिको क्षेत्रमा दीगो र निरन्तर लगानी सुनिश्चित गर्दै प्रविधि र नवप्रवद्र्धनात्मक सोचलाई देशको आर्थिक–सामाजिक रूपान्तरणको आधार बनाउन पनि यो सरकार दृढ छ ।’
प्रधानमन्त्री ओलीले विज्ञान शिक्षालाई चेतनाको मेरुदण्ड भन्नुभएको । ‘यसकै आधारमा गुणस्तरीय प्राविधिक शिक्षामार्फत् उत्पादनशील जनशक्तिको विकास गर्दै नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्नुपर्दछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘विज्ञान–प्रविधिको विकासबाट आर्थिक समृद्धि हासिल गर्न यस दिवसले हामीलाई थप प्रेरणा दिने विश्वास लिएको छु ।’










-1784808429.png)