बढ्यो दूधको मूल्य
काठमाडाैं, माघ २७ : दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ...
काठमाडाैं, माघ २७ : दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँ बढाइएको जनाएको हो।
यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रूपैयाँ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ रूपैयाँ हुने भएको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रूपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो।
बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रूपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रूपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रूपैयाँ मूल्य कायम हुनेछ। यसअघि काठमाडौँमा ७६ रूपैयाँ, बुटवल भैरहवामा ७२ रूपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रूपैयाँ तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन्।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ।












