Kathmandu Press

होटल बन्द गर्ने निर्णय फिर्ता लिन याक एन्ड यतीकाे माग

काठमाडाैं, माघ २७ : होटल याक एन्ड यतीले पाँचतारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।आज (बिहीबार) काठमाडौंमा...
होटल बन्द गर्ने निर्णय फिर्ता लिन याक एन्ड यतीकाे माग

काठमाडाैं, माघ २७ : होटल याक एन्ड यतीले पाँचतारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टीबापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो।

उक्त निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने सो होटलले जनाएको छ। आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए। क्यासिनो सञ्चालनलाई जुवा ऐनबाट हटार्इ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एन्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको उनले बताए।

कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एन्ड यतीमा सञ्चालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एन्ड यतीले निर्धारित म्यादभित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दाबी गरे।

२०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एन्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गरे।

क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो।

होटल र क्यासिनो फरकफरक मुद्दा भएको र तर निश्चित राजनीतिक उद्देश्य राखेर होटल बन्द गराइएको याक यन्ड यतीको दाबी छ। 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्