पाँच दिनदेखि हिउँमा फसेका ३४ जना सकुशल घर फर्किए

सिमकाेट, माघ २६ : जुम्लाकाे तातोपानी गाउँपालिका-८ का हिउँमा फसेका ३४ जना पाँच दिनपछि घर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा उनीहरू सकुशल घर फर्किएका हुन्।
माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी-८ टोप्लाका ३४ जना हिउँमा फसेका थिए।
प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकाेप्टर पठाइएको थियो। बाक्लो हिउँ जमेकोले हेलिकाेप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्विइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो।
त्यस्तै मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका व्यक्तिसहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले विज्ञप्ति जारी गरी जनाएकाे छ।
त्यस्तै, सोही हिमपातका कारण पाटनबाट फर्किने क्रममै दुई जनाको मृत्यु भएको थियो।












