Kathmandu Press

सञ्चयकोषको लगानी तीन खर्ब ३८ अर्ब बढी 

काठमाडौं, भदौ ३१ : आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले तीन खर्ब ४५ अर्ब बराबरको वित्त....

 सञ्चयकोषको लगानी तीन खर्ब ३८ अर्ब बढी 

काठमाडौं, भदौ ३१ : आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ। 

करीब ६ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ। कोषमा तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ। यस्तै, ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ। अन्य दायित्व तथा व्यवस्था भने चार अर्ब ३९ करोड रुपैयाँ छ।
 
कोषले तीन खर्ब ४५ अर्ब ६९ करोड कूल स्रोत र तीन खर्ब ३८ अर्ब ६ करोड रुपैयाँबराबरको लगानी गरेको छ। कोष स्थापनाको ५८ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार कोषले सञ्चित रकममा ८ दशमलव २५ प्रतिशतले ब्याज प्रदान गरेको छ।

कोषले सञ्चयकर्ता सापटीमा ५३, परियोजना कर्जामा १६, बैंकहरुको मुद्दती निक्षेपमा २३ र अन्य क्षेत्रमा आठ प्रतिशत लगानी गरेको छ। व्यक्तिगत विवरण (केवाइसी)मार्फत दुई लाख ५० हजार बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए।   

त्यस्तै, निजामती किताबखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्वयन भइरहेका छन्। नेपाल क्लियरिङ हाउससँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी र भुक्तानीलाई चेकरहित बनाइएको छ। हाल परीक्षणको रुपमा लागू गरिएको यस कार्यक्रमलाई चालू आर्थिक वर्षभित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याइने जनाइएको छ। 

सञ्चयकर्तासँगको सबै प्रकारका कारोवारको जानकारी एसएमएसमार्फत प्रदान गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिँदै गौतमले नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताबखानाबाटै कोषको परिचयपत्र नम्बर प्रदान गर्न थालिएको बताए।  

  कोषले २० वटा आयोजनामा आफ्नो शेयर लगानी गरेको छ।  १२ अर्ब ५० करोड  रुपैयाँ बराबरको सरकारी ऋणपत्रलाई दोस्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको छ। यस निर्णयबाट कोषको प्रतिफलमा वार्षिक करीब ७५ करोड रुपैयाँ वृद्धि भएको छ।

लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत बढी रकम ब्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रूपमा सञ्चयकर्तालाई नै प्रदान गरिएको छ।  आर्थिकव वर्ष २०७४÷७५ मा भएको तीन अर्ब ९४ करोड खुद मुनाफामध्ये दुई अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको छ।

मुनाफामध्ये आधा रकम सञ्चयकर्ताको खातामा जम्मा गरिएको छ। आधा रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि जम्मा गरिएको छ। 

आर्थिक वर्ष २०७४-७५,  २०७५-७६ मा २१ हजार सञ्चयकर्तालाई  १९ करोड ९७ लाख सामाजिक सुरक्षा सुविधा वितरण गरेको छ। कोषको वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कोषलाई प्राथमिक बजार र ऋणपत्र खरीदका लागि प्रयोग गर्ने तयारीमा सरकार रहेको बताए।

नागरिक लगानीकोषलाई दोस्रो बजारमा प्रवेश गराउने तयारी भइरहेको उल्लेख गर्दै उनले हाल धितोपत्र बजारमा सूचीकृत भएका अधिकांश कम्पनीको नाफा वृद्धि भएकाले नवप्रवेशी र दोस्रो बजारमा लगानी गरेर त्यसबाट नाफा कमाउँछु भन्नेको लागि यो समय उपयुक्त समय रहेको बताए।

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, भदौ ३१, २०७६