एकैदिनमा ७ जना मृत अवस्थामा फेला
काठमाडौं, माघ २६ : बुधबार एकैदिन ७ जना मृत अवस्थामा फेला परेका छन् । राजधानी काठमाडौं, ललितपुर सहित दाङ, सल्यान, रौतहट, डोटी र...
काठमाडौं, माघ २६ : बुधबार एकैदिन ७ जना मृत अवस्थामा फेला परेका छन् । राजधानी काठमाडौं, ललितपुर सहित दाङ, सल्यान, रौतहट, डोटी र नुवाकोटमा गरी ७ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बाग्मती खोलामा नाम नखुलेका करिब ३२ वर्षीय पुरुष र ललितपुर महानगरपालिका १ कुपण्डोल डेरा गरी बस्ने रामेछाप गोकुल गंगा घर भएका २९ वर्षीय ज्ञान बहादुर तामाङ सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै दाङको गढवा गाउँपालिका २ कोठरी गाउँ र महादेबाबीच रहेको राप्ती नदी किनारमा राप्ती गाउँपालिका ८ पिपरी बस्ने ४२ वर्षीय मिठु भन्ने कल्लु चौधरी र सल्यानको छत्रेश्वरी गाउँपालिका ३ दारिमज्युला बस्ने ६३ वर्षीय दुर्गा बहादुर बुढाथोकी सोही गाउँपालिकास्थित जयचौर जाने बाटो मुनि खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रौतहटको ईशनाथ नगरपालिका ४ मठियास्थित गहुँ खेतमा सोही नगरपालिका ९ लौतना टोल बस्ने १९ वर्षीया चाँदनी खातुन र डोटीको जोरायल गाउँपालिका १ गोगनपानीस्थित जंगलमा डडेलधुरा आलिताल गाउँपालिका १ तिमुली बस्ने १६ वर्षीय भानुभक्त नाथ बुधबार मृत अवस्थामा फेला परे ।
यता, नुवाकोटको विदुर नगरपालिका ९ दोभानमा नाम नखुलेका ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।












