जागरण अभियानमा कांग्रेसका शीर्ष नेताको सक्रियता
काठमाडाैं, भदाै ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेता....

काठमाडाैं, भदाै ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको सक्रियता बढेको छ।
अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ। पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर सञ्चालन गरेको छ।
जागरण अभियानको दोस्रो चरणको शुभारम्भमा सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महत खटिएका थिए।
यसैबीच, कांग्रेसका वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानको दोस्रो चरणअन्तर्गत प्रदेश नं– ५ का विभिन्न जिल्लामा जाने भएका छन्।
नेता पौडेलले आगामी असोज ५ देखि १० गतेसम्म सो प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ। वरिष्ठ नेता पौडेलले पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्यूठान, रोल्पा र दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।
यसअघि पार्टीले गत वैशाख २५ देखि जेठ २५ सम्म प्रथम चरणको जागरण अभियान सञ्चालन गरेको थियो। तेस्रो चरणको अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ।











-1784808429.png)