Kathmandu Press

समस्या समाधान गर्न ऐन संशोधनको तयारीमा छौँ : मुख्यमन्त्री पाण्डे

काठमाडाैं, माघ २५ : नेपाल भेटेरिनरी एशोसिएशनले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, आन्तरिक...
समस्या समाधान गर्न ऐन संशोधनको तयारीमा छौँ : मुख्यमन्त्री पाण्डे

काठमाडाैं, माघ २५ : नेपाल भेटेरिनरी एशोसिएशनले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री र प्रदेश लोकसेवा आयोग हेटौँडालाई ध्यानाकर्षण गराएको छ।

एशोसिएशनका अध्यक्ष डा शितलकाजी श्रेष्ठसहितको टोलीले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्रीहरु र लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई एक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण  गराएको हो। लोकसेवा आयोग हेटौँडाले यही माघ १० गते प्रदेशका विभिन्न सात वटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौँ तहको विज्ञापन खुलाएको थियो। विज्ञापनअनुसारको पदमा कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्चाउन माग गरिएको छ।

Hardik ivf

ध्यानाकर्षण पत्रमा साविकमा सङ्घीय संरचनाको राजपत्राङ्कित प्रथम श्रेणीमा कम्तीमा पाँच वर्ष कार्यरत योग्यता पुगेको प्राविधिक कर्मचारीलाई समायोजन गर्ने क्रममा प्रोत्साहनस्वरूप एक तह बढुवा गराई स्थानीय तहमा खटाइ पठाउने विशेष प्रयोजनका लागि कर्मचारी समायोजन ऐन, २०७५ अन्तर्गत छैठौँ तहका उक्त पदहरु सिर्जना गरिएको पृष्ठभूमिमा यी पदहरु खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने उल्लेख छ।

‘प्रमाणपत्र तह (विज्ञान) उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा पाँच वर्षको कोर्ष अध्ययन गरी नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेका दर्तावाल पशु चिकित्सकहरु स्वास्थ्य सेवा अन्तर्गतका मेडिकल अफिसर (आठौँ तह) सरहको तहमा नियुक्त हुनुपर्नेमा राजपत्राङ्कित प्राविधिकहरुको प्रोत्साहनका लागि सिर्जना गरिएको छौठौँ तहका लागि निर्धारित न्यूनतम योग्यता (पशुचिकित्सा शास्त्रमा स्नातकोपाधि) कायम गरी विज्ञापन गरिनु न्यायपूर्ण नभएको उल्लेख गरिएको छ।

यसअघि पनि बागमती प्रदेश लोकसेवा आयोगमा समान प्रकृतिका विज्ञापन प्रकाशित हुँदा एशोसिएशनले सच्याउन अनुरोध गरे पनि कार्यान्वयन नभएको भन्दै एशोसिएशनले यस्ता क्रियाकलापबाट पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुगेको जनाएको छ। एशोसिएशनले पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि न्यूनतम योग्यता कायम गरी छैठौँ तह खुला विज्ञापनमा खोलिएका उक्त पदहरुलाई कम्तीमा अधिकृत सातौँ तह कायम गरी सच्याउन अनुरोध गरेको छ।

मुख्यमन्त्री पाण्डेले एशोसिएशनको ध्यानाकर्षण पत्र बुझ्दै कसैले भनेको भरमा समस्याका समाधान नहुने भएकाले ऐनबाटै यसको स्थायी समाधान खोज्न सरकार लागिसकेको जानकारी दिए। सुरुबाटै पशु चिकित्सक, इञ्जिनीयरलगायत प्राविधिकको हकमा समस्या देखिएको उल्लेख गर्दै सरकारको निर्णयबाट मात्र समाधान नहुने भएकाले ऐन नै संशोधनको तयारीमा लागेको बताए।

उनले एशोसिएशनले उठाएका मुद्दामा सरकारको पनि ध्यानाकर्षण भएर सरोकारवाला मन्त्रालयबीच छलफल भइरहेको जानकारी दिँदै संसद् चले संसद् र नभए अध्यादेशबाट भए पनि आगामी फागुन महिनामा संशोधन गर्ने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले तत्कालका लागि भन्दा पनि दीर्घकालका लागि समस्या समाधान हुनेगरी एशोसिएशनको मागलाई सम्बोधन गर्ने आश्वासन दिए।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्