नेकपा मसालमा ‘रक्तपातबिहीन कोतपर्व’
काठमाडौं, भदौ ३१ : नेकपा मसालका महामन्त्री पुराना वामपन्थी नेता मोहनविक्रम सिंहले नातामा आफ्नै सौतेनी मामा गोविन्दसिंह थापालाई पार्टीको साधारण सदस्यसम....
काठमाडौं, भदौ ३१ : नेकपा मसालका महामन्त्री पुराना वामपन्थी नेता मोहनविक्रम सिंहले नातामा आफ्नै सौतेनी मामा गोविन्दसिंह थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छन्।
२०२३ सालमा रूपन्देही जिल्ला कमिटी सदस्य बनेयता त्यसभन्दा माथिको नेतृत्वदायी कमिटीमा बसेर ५३ वर्ष लामो पार्टी जीवन बिताएका वृद्ध थापालाई पार्टीबाट निष्कासन गरिएको हो । उनी मसालको मुखपत्र मानिने ‘हाँक साप्ताहिक’ का सम्पादक हुन् ।

हाल शारीरिक रुपमा अशक्त पुराना नेता थापालाई इतिहासै मेटाउने गरी राजनीतिक पार्टी सदस्यबाटै निस्कासन गरेको हो । उनी मसालबाट निष्कासित भए पनि हाँक साप्ताहिक चाहिँ निरन्तर निस्किरहेको जनाइएको छ।
पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको नेतृत्व संकीर्णता, विवाद र विभाजनको पर्याय नै रहेको उनका आलोचकहरूको आरोप छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई ‘गद्दार’ को घोषणा गरेर २०३१ सालमा चौथो महाधिवेशनबाट महामन्त्री चयन भएका थिए– मोहनविक्रम सिंह। उनी ४५ वर्षपछि पनि अझै महामन्त्री छन्।
महामन्त्री सिंहलाई २०४२ सालमा भारत, उत्तरप्रदेशको आयोध्यामा भएको पार्टीको पाचौं महाधिवेशनको हलबाट अपमानजनक तबरले पार्टी सदस्यबाटै निश्कासित गरिएको थियो। केही समयपछि मात्र चित्रबहादुर केसी, भैरव रेग्मी र गोविन्दसिंह थापाले पाँचौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिबाट साथ दिएपछि उनकै नेतृत्वमा नेकपा (मसाल ) गठन गरिएको थियो।
त्यसको ३४ वर्षपछि गोविन्दसिंह थापालाई महामन्त्री सिंहले पार्टी सदस्यबाटै निस्कासनको घोषणा गरे। मसाल स्रोतले आरोप लगायो, ‘७३ वर्षीय वृद्ध मामा थापालाई इतिहासमा जंगबहादुर राणाले आफ्नै मामा माथवरसिह थापाको भौतिक रूपमा सफाया गरेकोजस्तै कोतपर्वभन्दा क्रूर, अमानवीय र लज्जास्पद ढंगले पार्टीबाट निकालिएको छ।’
२०३६ सालमा अधिकृत तहको जागिर छाडेर प्रवासिएका थिए थापा। उनी भारतमा एकता समाजको बलियो संगठन बनाउन सफल भएका थिए। पद–प्रतिष्ठा प्राप्तिप्रति सधैँ त्यागी स्वभावका मामा ४० वर्षयता आफ्नो भाञ्जाको राजनीतिक नेतृत्वलाई मियो मानेर खट्दै आएका थिए।
महामन्त्री सिंहले पहिले मामाको नाममा ‘हाँक’ पत्रिका राख्दा पार्टीका अर्का नेताहरू मोहन वैद्य र प्रचण्डको केही नलाग्ने गरी सुरक्षित गरेर राखिएको थियो। त्यसको ३६ वर्षपछि मसालको गत महाधिवेशनमा मोहनविक्रम सिंहको ‘दक्षिणपन्थी संशोधनवादी लाइन’ भन्दै मसालको अल्पमत पक्ष नेताहरु हाँकका सम्पादक थापा, सन्तबहादुर नेपाली, जीवन शर्मा, कृष्ण पौडेल, विमल शर्मा लगायतले सिंहसँग फरकमत राखेका थिए । त्यसैको बदलामा थापालाई हटाएको स्राेतको दाबी छ।
गोविन्दसिंह थापाको नाम प्रकाशक र प्रधान सम्पादक भनी प्रिन्टलाइनमा छापिने गरेको भए पनि सम्पूर्ण सामग्री मसालको पार्टी नीतिअनुसार नै छापिने गरेको थियो। थापाले भने पार्टीको विपक्षी लाइनको प्रचार नगरेको वा पार्टीविरूद्ध कुनै सामग्री प्रकाशन नगरेको भन्ने वक्तव्य दिएका छन्।
‘बलियो बाङ्गो शरीर रहुन्जेल गोरूजस्तै जोत्ने, टीबी र डायबिटिजले थलिएर उभिन र एक्लै हिँड्डुल गर्न नसक्ने र आँखा देख्न नसक्ने भएपछि अपमानजनक तबरले तिरस्कार र निस्कासनको ऐलान गरिएको छ,’ थापा पक्षधर स्रोतले भन्यो, ‘जीवनभरि गरेको दुःखकष्ट र संघर्षलाई जिउँदै खाल्डोमुनि पुरिदिन खोजेर आत्मरतिमा रमाउने? यो कस्तो सभ्य र न्यायोचित व्यवहार हो?’
उनले प्रश्न गरे, ‘अपसंस्कार, तानाशाही र रक्तपातबिहीन कोतपर्वको नियती र ज्यादति खेप्न मामालाई बाध्य पारिएको यो टिठलाग्दो घटनाक्रम र असभ्य अभ्यासले अन्ततः मसाल समूह कहाँ पुग्ला?’






