निकुञ्जमा नमुना घाँसे मैदान बनाउने तयारी
चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ। निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन...
चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ। निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ। वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो। एक वर्षमा रु एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ। हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ। ठूला ढड्डी र मिचाहा प्रजाती फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ।
उहाँले घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भूबनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिनुभयो। उनले भने, ‘निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाती, ढड्डी र बुट्यान धेरै पलाउदा नियमित व्यवस्थापन गर्नुपरेको हो।’ निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्र पछि निकुञ्जको घाँसे मैदान बनेका हुन्।
निकुञ्जभित्र आठ हजार ९९५ दशमलब २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदैछ।
यसवर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने ३०८ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदैछ।
यसवर्ष घाँसे मैदान निर्माणका लागि रु २५ लाख र व्यवस्थापनका लागि रु. ३८ लाख ३५ हजार बजेट निकासा भएको छ। तिवारीका अनुसार गतवर्ष ७०० हेक्टर घाँसेमैदान निर्माण र ४०० यस हेक्टर व्यवस्थापन गरिएको थियो। निर्माणका लागि गएको वर्ष रु. ३ करोड ५० लाख र व्यवस्थापनका लागि रु ९९ लाख ५७ हजार खर्च गरिएको थियो।
आर्थिक वर्ष २०७६÷७७ मा ६०० हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो।












