Kathmandu Press

धर्ती र महिलाको स्वास्थ्य दुवैलाई असर नगर्ने मितेरी जैविक प्याड

‘मुम्बईमा परीक्षणपछि पनि जैविक प्याड कुहिन्छ कि कुहिँदैन भनी हामी आफैँले लगाएर हेर्‍यौँ। भित्रको भाग एक महिनामा कुहियो, बाहिरको बायो प्लास्टिक ६ महिनामा। यो छोटो समयमा कुहिने र स्वास्थ्यमा असर नपुग्ने भएपछि मात्रै बजारमा ल्यायौँ।’
धर्ती र महिलाको स्वास्थ्य दुवैलाई असर नगर्ने मितेरी जैविक प्याड

काठमाडाैं, माघ २५ : भरतपुर चितवनमा पुसको पहिलो साता भएको ‘छैटौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी– २०७८’ मा ‘मितेरी जैविक प्याड उत्पादन केन्द्र’ले वागमती प्रदेशबाट तृतीय स्थान हासिल गर्‍यो। प्रदर्शनीमा राखिएका उत्पादनलाई उपयोगिता लगायत आधारमा पुरस्कारका लागि छनोट गरिएको थियो, जसमा तृतीय भएको केन्द्रलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरियो।

पछिल्लो समय नेपाली समाजमा महिलाको महिनावारी व्यवस्थापन सामग्री सेनिटरी प्याडका सम्बन्धमा सचेतना बढ्दो देखिन्छ। विशेषतः बजारिया सेनिटरी प्याडमा प्रयोग गरिने केमिकलले महिलाको स्वास्थ्यमा असर गर्ने चेतना बढेसँगै जैविक प्याड उत्पादकहरू बढेका छन्। अर्कोतिर सरकारले नै सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई लक्षित गरी सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि– २०७६ ल्याएको छ।

यही पृष्ठभूमिमा मितेरी जैविक प्याडको उत्पादन सुरु गरिएको हो।

Hardik ivf

सोच

‘मितेरी जैविक प्याड उत्पादन केन्द्र’को जगमा चितवनको ‘महिला मञ्च’ समूह र काठमाडौंमा अवस्थित ‘राधा फाउन्डेसन’ छ।

एक दशक अघिदेखि ‘महिला मञ्च’ गठन गरी चितवन भरतपुरका महिलाले आफ्नो हक–अधिकारका लागि आवाज उठाइरहेका थिए। यही सिलसिलामा उनीहरूबीच कपडाको केमिकलरहित प्याड बनाउने सम्बन्धमा छलफल भयो। मञ्चमा सक्रिय महिलाले भरतपुरवासी केही महिलालाई कपडाको प्याड बनाउने तालिमको व्यवस्था मिलाए।

मितेरी जैविक प्याड उत्पादन केन्द्रकी अध्यक्ष सावित्री भण्डारी ।

मञ्चमा सावित्री भण्डारीसहित ६–७ महिला सक्रिय थिए। उनीहरूको प्याड बनाउने अभियान प्रभावकारी बन्दै गयो। ‘हामी घर–घरमा पुगेर प्याड बनाउन सिकाउन थाल्यौँ,’ अहिले मितेरी जैविक प्याड उत्पादन केन्द्रकी अध्यक्ष रहेकी सावित्री भण्डारी भन्छिन्, ‘बजारिया प्याडले महिलाको योनि र पाठेघरमा असर पुर्‍याउने जानकारी दियौँ, त्यसैले धेरै महिलाले कपडाको प्याड बनाउन सिक्ने रुचि देखाए।’

उनीहरूको यो अभियानमा राधा फाउन्डेसन जोडिन पुग्यो। अधिकारकर्मी राधा पौडेल संस्थापक रहेको ‘राधा फाउन्डेसन’ले पनि महिनावारी विभेद सम्बन्धमा बोल्दै आएको छ। भावना र उद्देश्य मिलेपछि उनीहरु एकजुट भई अघि बढे र २०७५ देखि भरतपुर महानगरपालिका– १२ मा ‘मितेरी जैविक प्याड उत्पादन केन्द्र’ सञ्चालित छ।

सुरुमा महिला मञ्चका सबै सदस्य मिलेर जति सकिन्छ, त्यति पैसा उठाई सानो आकारको उद्योग सञ्चालन गर्ने योजना बनेको थियो। राम्रो उद्देश्यमा अगाडि बढेको पाएपछि राधा फाउन्डेसनले सहयोग गर्ने भयो। ‘फाउन्डेसनबाट लगभग ३० लाख रुपैयाँ सहयोग भयो,’ केन्द्रकी अध्यक्ष भण्डारी भन्छिन्, ‘महिला मञ्चले पनि १० लाख रुपैयाँ सहयोग संकलन गर्‍यो। यसरी ४० लाख रुपैयाँ लगानीमा उत्पादन केन्द्र खोलेका हौँ। फाउन्डेसनले ६ महिनालाई पुग्ने कच्चा पदार्थ पनि दिएको थियो।’

यो काम महिला र राज्यकै हितमा थियो तर उत्पादन केन्द्र खोल्ने क्रममा आफूहरुले राज्य संयन्त्रबाट दुःख झेल्नुपरेको भण्डारी बताउँछिन्। ‘मेसिन भारतबाट ल्याउनुपथ्र्यो, तर वीरगन्जको भन्सार नाकामा हाम्रो मेसिनको ट्रक तीन महिनासम्म रोकियो, कागजात मिलेन भनी,’ भण्डारी भन्छिन्, ‘सामान ल्याउने ट्रक तीन महिना नाकामा रोकिँदा हामीले दुई लाख ५० हजार रुपैयाँ बढी भाडा तिर्नुप¥यो।’

सुरुमा केन्द्रले १० जना कर्मचारी राखेको थियो। कोभिड–१९ कारण व्यवसाय थलिएपछि अहिले पाँच कर्मचारी मात्र रहेको अध्यक्ष भण्डारी बताउँछिन्। ‘अन्य कर्मचारीलाई तलब दिन सकेनौँ तर उहाँहरुले घरमै बसेर बनाएको कपडाको प्याड हामीले लिन्छौँ र बिक्री गर्छौं,’ अध्यक्ष भण्डारी भन्छिन्, ‘स्थानीय तह तथा अन्य सम्बन्धित निकायले यसको फाइदाका बारेमा बुझेर ठूलो संख्यामा उत्पादन गर्न हामीलाई सहयोग गरेन, हामीसँग बजेट छैन।’

भारतमा परीक्षण

जैविक सेनिटरी प्याड बनाउन सल्लाको बोक्रा, सिलिङ मेसिन, बायो प्लास्टिक लगायत प्रयोग गरिन्छ। अध्यक्ष भण्डारीका अनुसार, सुरुमा सल्लाको बोक्रालाई कपास बनाइन्छ र कपासलाई बायो प्लास्टिकमा राखेर मेसिनले सिलाइन्छ।

‘सेनिटरी प्याडका लागि कच्चा पदार्थ भारतबाटै खपत गर्छौं,’ उनी भन्छिन्, ‘अहिले कच्चा पदार्थका रूपमा सल्लाको बोक्रा नभई कपास नै किन्न पाइन्छ। नेपालमै पनि कच्चा पदार्थ तयारीका लागि परीक्षण गरिरहेका छौँ।’

जैविक प्याड उत्पादन भइसकेपछि स्वास्थ्यमा असर पुर्‍याउँछ कि पुर्‍याउँदैन भनी परीक्षण गर्न भारतको मुम्बई पठाइएको थियो। मुम्बईबाट लगाउन उपयुक्त छ भनेर आइसकेपछि बल्ल बजारमा ल्याएको अध्यक्ष भण्डारी बताउँछिन्।

‘मुम्बईमा परीक्षणपछि पनि जैविक प्याड कुहिन्छ कि कुहिँदैन भनी हामी आफैँले लगाएर हे¥यौँ,’ अध्यक्ष भण्डारी भन्छिन्, ‘भित्रको भाग एक महिनामा कुहियो, बाहिरको बायो प्लास्टिक ६ महिनामा। यो प्याड छोटो समयमा कुहिने र स्वास्थ्यमा असर नपुग्ने भएपछि मात्र बजारमा ल्याएका हौँ।’

महिला मञ्चका सदस्यले सुरुमा बजारिया प्याडका बारेमा अध्ययन गरेका थिए। बजारमा पाइने प्याडले एकैछिन रगत लुकाउन मात्रै मद्दत पु¥याउने देखिएको भण्डारीको भनाइ छ। ‘तर दीर्घकालीन रूपमा महिलाको स्वास्थ्यमा असर गर्ने र सेनिटरी प्याडमा हुने प्लास्टिकले वातावरणीय प्रदूषण बढाउने जानकारी पायौँ,’ उनी भन्छिन्, ‘धर्ती र महिलाको स्वास्थ्य दुवैलाई असर नपुग्ने महिनावारी सामग्री बनाउने नै हाम्रो उद्देश्य थियो।’

अहिले अन्यले पनि जैविक प्याड उत्पादन सुरु गरेका छन्। तर जैविक प्याड उत्पादन गर्ने आफूहरु नै पहिलो भएको भण्डारी बताउँछिन्।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्