Kathmandu Press

सुविधासम्पन्न बन्दै पोखरा महानगरमा वडा भवन

सुविधासम्पन्न बन्दै पोखरा महानगरमा वडा भवन

पोखरा, माघ २४ : पोखरा महानगरपालिकाले महानगरको प्रशासकीय भवनसँगै वडा कार्यालयका भवन निर्माण गरिरहेको छ। महानगरले बनाएका भवनहरु सुविधासम्पन्न छन् भने केहीमा विद्युतीय भर्‍याङसमेत जडान गरिएको छ। नयाँ भवनहरु अपांगतामैत्रीसमेत छन् । 

महानगरका ३३ वडामध्ये ४ वर्षको अवधिमा नौ वडाका कार्यालय भवन निर्माण सम्पन्न भएको र केहीको निर्माण भइरहेको छ। पछिल्लो समय वडा नं. २ को भवन निर्माण सम्पन्न भएर  सोही भवनबाट सेवा प्रवाह सुरु भएको छ। कूल रु दुई करोड २५ लाख २७ हजार लागतमा निर्माण गरिएको सो भवनको आइतबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे। 

Hardik ivf

सो अवसरमा उनले स्थानीय सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी सहज र छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताए।

२०७४ मा स्थानीय तहको निर्वाचनपछि वडाका नयाँ भवन निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ। जमिन व्यवस्थापन लगायतका समस्याले नयाँ भवन निर्माण रोकिएकाहरुमा पुरानैको स्तरोन्नति गरिएको बताइन्छ। 

महानगरले हालसम्म वडा नं. २ सहित वडा नं. ७, ११, १२, १६, १९, २२, ३० र ३२ का नयाँ भवन निर्माण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए। उनका अनुसार वडा ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ। 

त्यसैगरी महानगरको प्रशासकीय भवनको समेत शिलान्यास गरेर काम सुरु गरिएको छ। पोखरा–९ नयाँबजारस्थित दमकलमार्गमा चार रोपनी क्षेत्रफल जमिनमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको हो। 

यसैगरी वडा ६, १७ र २६ का भवन निर्माणका लागि प्रक्रिया सुरु गरिएको पौडेलले जानकारी दिएइ। उनले भने, ‘प्रशासकीय भवनसँगै वडाका आफ्नै भवनहरु निर्माण महानगरको प्राथमिकतामा छन्। सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाहमा सहज हुनेछ।’

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्