कुष्ठरोगीका लागि म्याग्दीले के गर्दै छ ?
कुष्ठरोग ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । शरीरमा यो कीटाणु प्रवेश गरेपछि लक्षण देखापर्नै तीन–चार वर्ष लाग्छ ।
काठमाडाैं, माघ २४ : नेपाल सरकारले २०६६ माघ ५ मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । यद्यपि यस वर्ष म्याग्दीमा थप ६ नयाँ कुष्ठरोगी भेटिएका छन् ।
६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा हालै बेनीमा आयोजित कार्यक्रममा म्याग्दी जिल्लाभित्र नयाँ ६ कुष्ठरोगी भेटिएको जानकारी गराइयो । बेनी नगरपालिकामा तीन, रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक गरी ६ नयाँ कुष्ठरोगी फेला परेका छन् । यीमध्ये तीनजना बेनी नगरपालिकाको रहेको बताइए पनि हालसम्म दुईजना मात्र नगरपालिकाको सम्पर्कमा आएको बेनी नगरपालिकाको भनाइ छ ।
‘सम्पर्कमा आएका दुई कुष्ठरोगी वडा ५ र ९ का हुन् । उनीहरू दुवैको पोखरामा उपचार भइरहेको छ,’ बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला गौतम भन्छिन्, ‘उनीहरू दुवै महिला हुन् । एक नौ वर्षकी हुन् भने अर्की ४८ वर्षीया ।’
उनीहरू अहिले नगरपालिकाको सम्पर्कमा आइसकेका छैनन् । उनीहरूको सम्पर्कमा आएकालाई सचेत गर्न भनिरहेको प्रमुख गौतम बताउँछिन् । ‘नयाँ कुष्ठरोगी उपचारत भएकाले त्यति त्रसित छैनौँ,’ उनी भन्छिन्, ‘नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’
उनी कोभिड–१९ का कारण सचेतना जगाउने काम त्यति प्रभावकारी बन्न नसकेको बताउँछिन् । ‘गत वर्ष पनि कोभिड–१९ का कारण कार्यक्रम गर्न सकेनौँ, यस वर्ष पनि त्यस्तै भइरहेको छ,’ उनले भनिन् ।
म्याग्दी जिल्लाकै रघुगंगा गाउँपालिकामा भेटिएका नयाँ कुष्ठरोगी पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । ‘गाउँपालिकासम्म कुष्ठरोगीको विवरण आइपुगेको छैन,’ रंघुगंगा गाउँपालिका स्वास्थ्यशाखा प्रमुख टीका शाही भन्छन्, ‘विवरण थाहा पाएमा उपचारका लागि सहयोग गर्छौं ।’
त्यस्तै, अन्नपूर्ण र मालिका गाउँपालिकामा भेटिएका नयाँ कुष्ठरोगीलाई सहयोग गर्ने ती गाउँपालिकाको भनाइ छ ।
कुनै कुष्ठरोगी बिरामी पत्ता लागे पनि गाउँपालिकाको स्वास्थ्य चौकीमा गएर औषधि खान्छन् तर गाउँपालिकालाई थाहा नहुने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको भनाइ छ ।
म्याग्दीमा कुष्ठरोगी
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार, म्याग्दीमा गत वर्ष (०७७÷७८) १३ कुष्ठरोगी भेटिएका थिए । तीमध्ये हाल तीनजना उपचाररत छन् । प्रति १० हजार जनामा एक कुष्ठरोगी भेटिनुलाई जोखिम मानिने लम्साल बताउँछन् । यसपालिको जनगणना अनुसार म्याग्दी जिल्लाको जनसंख्या एक लाख सात हजार पुगेको छ ।
गत वर्षको तुलनामा यसपालि कुष्ठरोगी घटेको उनी मान्छन् । ‘तर, चालू आर्थिक वर्षको अन्तसम्म नयाँ संक्रमित भेटिन पनि सक्छन्,’ उनी भन्छन्, ‘जहाँ कुष्ठरोगी पत्ता लगाउँछौँ, उनीहरूको सम्पर्कमा आएको व्यक्तिलाई पनि परीक्षण गर्छौं ।’
उनका अनुसार, एक सरुवा रोग हो कुष्ठरोग । छिटो रोगलाई पहिचान गरेर उपचार गरियो भने अरूमा सर्ने जोखिमलाई कम गर्न सकिन्छ । ५–७ वर्ष अघिदेखि म्याग्दी कुष्ठरोगको जोखिमको आसपास रहेको उनी बताउँछन् ।
के हो कुष्ठरोग ?
कुष्ठरोग ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । शरीरमा यो कीटाणु प्रवेश गरेपछि पनि लक्षण देखापर्न तीन–चार वर्ष लाग्छ । यसको लक्षण स्वरुप सुरुवाती चरणमा छालामा लाटो–फुस्रो दाग देखिन्छ ।
छाला रोग विशेषज्ञ डा. रूपक घिमिरेका अनुसार, मायाक्रोब्याक्टेरियम लेप्रे सर्ने तरिका रूघाखोकीको जस्तै हो । यो एकदमै सक्रिय भएका बेला कुष्ठरोगी बिरामीलाई छोएर पनि सर्ने सम्भावना हुन्छ । सुरक्षा अपनायौँ भने सुरक्षित रहन पनि सकिन्छ । छुना साथ सर्छ भन्यो भने समाजमा बिरामीलाई घर–परिवारबाट टाढा लगेर राखिदिने गरिन्छ ।

कुष्ठरोग नै हो भने दाग आएको स्थानमा छुँदा बिरामीले कुनै महसुस गर्दैन । त्यस्तै यसको लक्षणमा बिस्तारै रोगीको कानको लोती सुनिँदै जान्छ । हातखुट्टा झमझम्याउने, नसा सुनिने, नसा दुख्ने पनि हुन थाल्छ ।
प्रमुख लम्सालका अनुसार, एक कुष्ठरोगीले ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि खानुपर्छ । ‘औषधि खाँदा अंगभंग नभएका बिरामी निको हुन्छन्,’ प्रमुख लम्सालले शुक्रबार टेलिफोनमा भने, ‘सुरुवाती चरणमा थाहा पायौँ भने अंगभंग हुनबाट बचाउन सकिन्छ ।’
हातखुट्टामा अन्य केही वस्तुले छुँदा महसुस हुन छाड्यो भने बिस्तारै अंगभंग हुनेखालको लक्षण देखापर्ने प्रमुख लम्साल बताउँछन् । ‘अंगभंग हुनका लागि ५–६ वर्ष लाग्न सक्छ,’ उनी भन्छन्, ‘सुरुमै लाटोफुस्रो दाग आउँदा जाँच गरेर औषधि गरेमा कुष्ठरोग निको हुन्छ ।’
औषधि प्रयोग गर्न थालेपछि यो रोग अर्काे व्यक्तिलाई सर्ने सम्भावना पनि कम हुन्छ । यो रोग पनि क्षयरोगजस्तै श्वास–प्रश्वासका माध्यमबाट सर्ने हो । टिभी रोगजस्तो छिटो–छिटो भने सर्दैन ।
कुष्ठरोग निको हुने रोग हो तर पहिले थाहा नभएर शरीरका अंगभंग भइसकेको अवस्थामा भने गुमेका अंग फिर्ता गराउन सकिँदैन ।
प्रमुख लम्सालका अनुसार, जिल्ला स्वास्थ्य कार्यालयले जनचेतना अभिवृद्धिको काम गरिरहेको छ । त्यस्तै, कुष्ठरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउने गर्छ ।
न्यूनीकरणको पहल
जिल्ला प्रशासन कार्यालय म्याग्दीले कुष्ठरोगीको अनुगमन गर्ने काम भइरहेको जनाएको छ । ‘प्रशासनले स्वास्थ्य कार्यालय र स्थानीय तहसँग छलफल गरेर नियन्त्रणका लागि पहल गरिरहेको छ,’ कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले भने, ‘जिल्लाले सबै स्थानीय तहलाई विभिन्न सचेतना र अन्य योजना भए पनि गर्नका लागि पहल गरेको छ ।’
स्वास्थ्य प्रमुख र स्थानीय तहका प्रमुखलाई समय–समयमा छलफल गराउने र कुष्ठरोगका बिरामीको नियन्त्रणका लागि समन्वयन गरिरहेको पनि उनी बताउँछन् ।












-(86)-1764936079.jpg)