Kathmandu Press

उपनिर्वाचन : वामदेवको इच्छा कास्की होइन, अझै डोल्पानै

काठमाडौं, भदौ २४ : नेकपाका उपाध्यक्ष वामदेव गौतम जसरी हुन्छ यही कार्यकालमा संसद प्रवेश गर्ने योजनामा छन्। त्यसका लागि उनले विभिन्न काेणबाट तयारी थालेक....

उपनिर्वाचन : वामदेवको इच्छा कास्की होइन, अझै डोल्पानै
काठमाडौं प्रेस

काठमाडौं, भदौ २४ : नेकपाका उपाध्यक्ष वामदेव गौतम जसरी हुन्छ यही कार्यकालमा संसद प्रवेश गर्ने योजनामा छन्। त्यसका लागि उनले विभिन्न काेणबाट तयारी थालेका छन्।

पार्टीले अत्याधिक बहुमत ल्याएर सबै नेताहरुले चुनाव जित्दा आफू बर्दियाबाट चुनाव हारेको पीडा उनले बिर्सन सकेका छैनन्। अन्य जिल्लामा हुने उपनिर्वाचन जितेर गत चुनावको हार भुलाउने रणनीतिमा उनी लागेका छन्।

उमेरले ७० कटेका गौतमकाे यसै कार्यकाल संसद प्रवेश गरेर केही न केही पद लिने दाउँ छ। बर्दियामा आफ्नो चुनाव हारको मुख्यकारण अन्तरघात भन्ने निष्कर्षमा पुगेका गौतम पछिल्लो समय कास्की-२ मा हुने उपनिर्वाचनमा उम्मेदबार बन्ने-नबन्ने विषयमा पनि अन्याेलमा परेका छन्।

पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' कास्कीमै गौतमलाई चुनाव लडाउने पक्षमा देखिएका छन्। तर गौतम आफै भने कास्कीमा चुनाव जितिन्छ भन्नेमा विश्वस्त छैनन्।

उनी निकट एक नेताका अनुसार गौतम कास्की होईन, अझै डोल्पामै चुनाव लड्ने विचारमा छन्। ‘रविन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की-२ मा होईन, बामदेव कमरेड डोल्पामै चुनाव लड्ने भन्नेमा देखिनुहुन्छ,’ गौतम निकट ती नेताले भने, ‘तर नेताहरु कास्कीमै चुनाव लड्नु पर्छ भनेर लागेका छन्, यसले झन उहाँ तर्सिनु भएको छ।’

डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा गराएर त्यो क्षेत्रमा चुनाव लडे जित सुनिश्चित हुनेमा गाैतम ढुक्क छन्। किनकि डाेल्पाबाट बुढा अत्यधिक मतले विजयी भएका थिए।

कास्की-२ मा चुनाव लड्न किन डराए वामदेव?

वामदेव गाैतमलाई उपचुनाव लड्ने भनेको जित्नको लागि हो। अर्थात संसदमा प्रवेश गर्न हो। उनी हारजित सुनिश्चित नभएको क्षेत्रमा चुनाव लड्न चाहदैनन्।

कास्की-२ मा तीन पटक रवीन्द्र अधिकारीले चुनाव जितेको क्षेत्र हो। त्यसैले पनि त्यहाँ नेकपाले चुनाव जित्न सक्छ भन्ने सुझाव उनलाई आएको छ। तर गौतमले पछिल्लो चुनावको अंकगणित केलाएर बसेका छन्।

कास्की-२ मा अधिकारीले नाै हजार वरिपरिको मतले मात्रै चुनाव जितेका हुन्। कास्की-२ कै प्रदेश सभामा ‘क’मा कांग्रेसले चुनाव जितेको छ। त्यस्तै ‘ख’मा पनि कांग्रेसको बागी उम्मेदवार भएका कारण कांग्रेसका गुरु बरालले झिनो मतले मात्रै चुनाव हारेका छन्।

यहाँको अंकगणित केलाउदा नाै हजार चानचुनको मतान्तर मात्रै देखिन्छ। त्यतिवेलाको नेकपाको पक्षमा आएको माहौल र अहिले सरकारप्रति देखिएको चर्को असन्तुष्टिको माहौलले चार-पाँच हजार मत तलमाथि हुने अनुमान गाैतमको छ।

अर्काे कारण, सामाजिक संजालमा सरकारको जुन तहको विरोध छ त्यसकाे असर कास्कीमा पनि प्रत्यक्ष रुपमा पर्छ भन्नेमा गाैतम सचेत छन्। कास्कीमा चुनाव लढे केपी ओली सरकारको सबै कमजोरीकाे असर आफूमाथि पर्ने उनकाे ठम्याइछ। त्यसैले पनि कास्की-२ मा रवीन्द्रकै पत्नी विद्या भट्टराईलाई चुनाव उठाएर आफू डोल्पा जाने मनस्थितिमा देखिएका हुन् गाैतम।

किन जान चाहन्छन् डोल्पा?

वामदेव गाैतम राजधानीबाट नजिकको सुविधा सम्पन्न शहर पोखरा छोडेर किन डोल्पा जान चाहन्छन्? याे प्रश्नको उत्तर सजिलै छ। डोल्पाका निर्वाचित सांसद धनबहादुर बुढाले पूर्ण सहयोग गर्नेगरी उनलाई अन्यत्र व्यवस्थापन गर्न सकियो भने चुनावी अंकगणितकै हिसावले त्यहाँ चुनाव कुनैपनि हालतमा हारिदैन भन्ने निष्कर्षमा गाैतम छन्।

सांसद बुढाले ११ हजार सात सय ७१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका अंगदकुमार बुढाले तीन हजार एक सय ६७ मत मात्रै पाएका थिए।

अर्को भौगोलिक हिसावले अलि पीछडिएको डोल्पामा सरकार विरोधी माहौलको स्तर निकै कम भएकाले त्यसले चुनावमा असर कम हुन्छ भन्ने आँकलन गाैतमको छ। त्यसका साथै पोखरामा जस्तो सामाजिक संजाल वा मिडियाले सार्वजनिक धारणा डोल्पामा बनाउन सक्दैन भन्ने उनको ठम्याइछ। जसका कारण डोल्पामा चुनाव लड्दा ओली सरकारले गरेका गलत कामको जवाफ दिइरहनु पर्दैन् भन्ने उनकाे विचार छ।

त्यसैले वामदेव गाैतम कास्की होईन, डोल्पानै जान चाहन्छन्। जहाँबाट संसद प्रवेशकाे ढोका खुल्ने उनकाे विश्वास छ।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, भदौ ३०, २०७६