श्रीपञ्चमीको अवसरमा मिथिलाञ्चलमा हलो र गोरुको पूजा
जलेश्वर, माघ २३ : श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन्।परम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत...
जलेश्वर, माघ २३ : श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन्।
परम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन्।
किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन्। घर बाहिर गोरुलाई नुहाएर रंगीचंगी डोरी लगाएर पूजा गरेका छन्।
किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन छ। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाच्छोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन छ।
किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने चलन छ।
श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सक्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबीर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन्।
मिथिलाञ्चलका किसान आजका दिनदेखि आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन्।
हलो गोरु पूजाको अवसरमा मिथिलाञ्चलको गाउँ गाउँमा सयौं गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको दृश्य देख्न सकिन्छ। हलो र गोरु पूजा जलेश्वरलगायत जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा एकसाथ गरिएको छ।












