Kathmandu Press

प्रचण्डको निर्देशन- परिवर्तन विरोधी शक्तिविरूद्ध प्रतिकारमा उत्रिनुस्

काठमाडौं, भदौ ३० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधीको प्रतिकार गर्न आफ्ना युवा तथा विद्यार्थीलाई आह्वान गरेका छन....

प्रचण्डको निर्देशन- परिवर्तन विरोधी शक्तिविरूद्ध प्रतिकारमा उत्रिनुस्

काठमाडौं, भदौ ३० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधीको प्रतिकार गर्न आफ्ना युवा तथा विद्यार्थीलाई आह्वान गरेका छन्।

उनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलखेल भइरहेको औल्याउदै युवा तथा विद्यार्थीलाई प्रतिकारका लागि आह्वान गरेका हुन्। ‘लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्नुस्,’ प्रचण्डले भने।

दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आइतबार नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै  उनले समृद्धिको यात्रामा रहेको बताए।

‘समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन्। व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ,ड अध्यक्ष प्रचण्डले भने, ‘तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ।’

उनले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको बताए। अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न उनले आग्रह गरे।

‘हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन। त्यो दुस्साहस मात्र हुनेछ। जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ,’ प्रचण्डले भने।

कार्यक्रममा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको स्मरण गरे। तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् थिए। उनको २०७१ भदौ ३० गते निधन भएको थियो।

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्