जुम्लामा तेस्रोपटक हिमपात, किसानमा छायो खुसी
जुम्ला, माघ २१ : जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ।...
जुम्ला, माघ २१ : जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ। आफूहरूले लगाएको बाली सप्रिने भएपछि यहाँका किसानमा खुसी छाएको हो।
जुम्लाको माथिल्लो भेगमा निकै बाक्लो हिमपात भएको गुठीचौर गाउँपालिका स्थानीयवासी दीपक बुढाले बताए। बुधबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।
हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन भने निकै कष्टकर बन्दै गएको चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी कविता नेपालीले जानकारी दिए। उनले भने, ‘यो वर्ष तीन पटक हिउँ परेको छ। हिमपात भएपछि ट्यिुसन पढ्न आएका विद्यार्थीले निकै सास्ती पाएका छन्। हिउँले अझै जाडो बढाउने भएको छ।’ बालबालिका र वृद्धालाई निकै सास्ती भएको स्थानीयवासी नेपालीले बताए।
जिल्लाको उच्च हिमाली भेगमा रहेको पातारासी र गुठीचौर गाउँपालिमकामा तीन फिटसम्म हिमपात भएको स्थानीयवासीले बताएका छन्। अहिले सदरमुकाम खलङ्गामा हिउँ परिरहेको छ। जुम्लाको तापक्रम माइनसमा गएको छ।
हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाई सेवादेखि सुर्खेत नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनसमेत ठप्प भएपछि यात्रुलाई सास्ती भएको छ। कर्णाली राजमार्गमा चल्ने छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ।
हिउँदे बालीलाई राहत
हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानमा भने राहत भएको छ। हिउँदे बालीनालीलाई चाहिने पानीको मात्रा पुग्ने भएपछि यहाँका किसानलाई राहत हुने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेषबहादुर अधिकारीले बताए।
वर्षातले हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । नयाँ लगाएका स्याउका बिरुवालाई हिउँले पानीको राम्रो सहयोग गर्ने स्याउ सुपरजोन कार्यालय जुम्लाले जनाएको छ।
प्रशासनले हिउँपात तथा चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत न्यानो भएर बस्न आग्रह गरेको छ। जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँले बताए।
प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ। कुनै घटना घटे तल्काललै नजिकैको प्रहरी कार्यालय तथा सिधैँ जिल्ला प्रशासन कार्यालयमा र जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्ने सूचनामार्फत जानकारी गराएको प्रशासनले जनाएको छ।












