Kathmandu Press

के काभ्रेमा विषादीको प्रयोग घटेकै हो ?

अहिले नगरपालिकाभित्र विभिन्न संघसंस्थाले खेती गरिने माटो थप नबिग्रियोस् भनी माटोलाई खुकुलो बनाउने चुना वितरण गरिएको छ । त्यस्तै, आइपिएम कृषक पाठशाला चलाइएका छन्।
के काभ्रेमा विषादीको प्रयोग घटेकै हो ?

काठमाडाैं, माघ २१ : पाँचखाल नगरपालिका– ६ की ४३ वर्षीया अष्टमाया श्रेष्ठले आइतबार (माघ ९) आफ्नो तरकारी खेतीमा विषादी छर्कंदै थिइन् । पाँचखाल फाँटमै दुई रोपनी जग्गामा उनले गोलभेडा, काउली र बन्दा लगायत तरकारी लगाएकी छन्।

काउलीमा पम्पमार्फत विषादी छर्कंदै गरेकी उनले भनिन्, ‘चिसो मौसममा तरकारीमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । तुषारो र कीराबाट जोगाउन सातामा एकपटक विषादी हाल्ने गरेकी छु।’

विषादीले आफूलाई असर नगरोस् भनी उनले छत्री (अनुहार जोगाउने क्याप)को प्रयोग गरेकी थिइन् । कुर्ता–सुरुवाल, कम्मरमा बाँधेको पछ्यौरी पनि उनले अरु बेला प्रयोग गर्दिनन्।

Hardik ivf

औषधि छर्किएपछि उनले बाँसको कप्टेरोमा गम–टेप (जसमा सानासाना भुसुना र कीरा टाँसिन्छ) टाँसेर तरकारी बारीको बीच–बीचमा गाडिन् । उनले गाडेको गममा स–साना भुसुना तथा अन्य कीरा टाँसिएको देखिन्थ्यो।

उनी बिनाविषादी तरकारी उत्पादन नहुने बताउँछिन् । ‘तरकारी रोप्दा पनि माटोमा विभिन्न मल प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले माटो नै बिग्रिसकेको छ।’  

पाँचखाल नगरपालिका–६ कै सरस्वती श्रेष्ठ पनि गोलभेडामा विषादी हाल्दै थिइन् । यसपालि उनले एक रोपनी जग्गामा गोलभेडा लगाएकी छन् । ‘विषादी नहाल्ने हो भने त बिरुवा राम्रोसँग झाँगिदैन । फलमा कीरा लाग्ने, कुहिने र उत्पादन पनि कम हुने हुन्छ,’ विगत ७–८ वर्षदेखि तरकारीखेती गर्दै आएकी उनले भनिन्, ‘सधैँ विषादी र आधुनिक मल प्रयोग गर्नुपरेको छ, नत्र उत्पादन नै हुँदैन । पहिले विषादी प्रयोग नगरी गाईवस्तुको मलले मात्रै खेती हुने त अहिले कथाजस्तो भइसक्यो।’
 
विषादी प्रयोग घट्दो छ : कृषि केन्द्र

कुनै समय काभ्रेका किसानले तरकारीमा अत्यधिक विषादीको प्रयोग गर्छन् भन्ने हल्ला व्याप्त थियो । योसँगै पछिल्ला वर्ष काभ्रेमा विषादीको प्रयोग घटेको पनि समाचार आइरहेका छन्।

कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी काभ्रेमा विषादीको प्रयोग घट्दो क्रममा रहेको बताउँछन् । यस केन्द्रको तथ्यांकले भने विषादीको प्रयोग बढ्दो नै देखाउँछ।

केन्द्रको तथ्यांक अनुसार, आर्थिक वर्ष ०७२÷७३ मा मात्रै ७२ हजार पाँच सय ७५ किलो ÷लिटर विषादी खपत भएको थियो । जसमध्ये कीटनाशक विषादी १६ हजार तीन सय ७३ किलो÷लिटर, ढुसीनाशक विषादी ४६ हजार पाँच सय ५५ किलो/लिटर, झार मार्ने सात हजार तीन सय २५ किलो÷लिटर, रोग अनुसारका विषादी एक हजार पाँच सय ७० किलो लिटर र अन्यमा सात सय ५२ किलो/लिटर विषादी खपत भएको हो । त्यस्तै, आव ०७७/७८ मा ८५ हजार एक सय २४ किलो/लिटर विषादी खपत भएको थियो । जसमध्ये कीटनाशक विषादी २० हजार एक सय ५० किलो/लिटर, ढुसीनाशक विषादी ५३ हजार चार सय ५० किलो/लिटर, झार मार्ने ८ हजार ५२४ किलो/लिटर, रोग अनुसारको विषादी दुई हजार किलो लिटर अन्य एक हजार किलोलिटर विषादी खपत भएको हो।

यो तथ्यांकले ०७२/७३ को तुलनामा २०७७/७८ मा १२ हजार ५४९ किलो/लिटर बढी विषादी प्रयोग भएको देखाउँछ । केन्द्रसँग ०७२/७३ र २०७७/७८ बीचको तथ्यांक छैन । प्रमुख भन्छन्, ‘बीचमा कर्मचारी हेरफेर भएकाले तथ्यांक राख्न सकिएन।’

प्रस्तुत तथ्यांकले विषादीको प्रयोग बढेको देखाए पनि प्रमुख दवाडी काभ्रेकै हकमा विषादीको प्रयोग घटेको बताउँछन् । ‘छिमेकी जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्म काभ्रेबाटै विषादी पुग्छ,’ उनी भन्छन्, ‘त्यसैले काभ्रेको तथ्यांकमा विषादी खरिदबिक्री बढी देखिएको हो । खरिद–बिक्री बढी देखिए पनि सबै काभ्रेमै प्रयोग भएको होइन । काभ्रेमा वार्षिक लगभग ४० हजार किलो÷लिटर मात्र विषादी खपत हुने गर्छ।’

उनका अनुसार, अन्य स्थानमा भन्दा काभ्रेका अधिकांश स्थानमा वर्षमा तीन÷चारपटक नगदेबाली उत्पादन गरिन्छ । ‘काभ्रेका धेरै स्थानमा नगदेबाली लगाइने हुँदा उत्पादनको आधारमा विषादीको प्रयोग धेरै होइन,’ उनी भन्छन्, ‘एकपटक तरकारी लगाउने ठाउँ र तीनपटक तरकारी लगाउने ठाउँमा दोब्बर विषादी प्रयोग होला तर एकैपटक धेरै विषादी प्रयोग गरिएको होइन।’

विगतका वर्षमा भन्दा अहिले सचेतनाका कारण कृषकले कम विषादीको प्रयोग गर्न थालेको र प्रांगारिक मलमै बढी चासो देखाएको उनको भनाइ छ।

उनका अनुसार, विगत डेढ दशकदेखि यहाँका कृषक समूहमा आबद्ध भई आइपिएम प्रविधितर्फ आकर्षित भएका छन् । यस प्रविधिअन्तर्गत किसानका समूहलाई प्रांगारिक मलको उत्पादन र प्रयोगबारे सिकाइन्छ, बुझाइन्छ।

मौसमी तथा बेमौसमी तरकारीखेतीमा दक्षता पाएका जिल्लाका पाँचखाल, जैसीथोक, कुन्ताबेसी, चण्डेनीमण्डन, रानीपानी, नाला र पनौती लगायत क्षेत्रमा विषादीको प्रयोग घट्दो क्रममा रहेको प्रमुख दवाडी बताउँछन्।

काभ्रेमा उत्पादित तरकारी काठमाडौं उपत्यकामा बिक्री हुने गर्छ । प्रमुख दवाडीका अनुसार, यहाँ व्यावसायिक रूपमा तरकारीखेती र पशुपालन गर्ने कृषकको संख्या एक लाखभन्दा बढी छ । यत्तिका किसानले थोरै मात्रामा विषादी खरिद गरे पनि एकमुष्ठमा बढी देखिने उनको भनाइ छ।

प्रांगारिक मलमा जोड

पाँचखाल नगरपालिकाका कृषि विकास शाखाप्रमुख ईश्वरप्रसाद अधिकारी पाँचखालमा प्रांगारिक मलको प्रयोगमा कृषकलाई सचेत गराइरहेको बताउँछन् । ‘पहिले विषादी प्रयोग गर्दा कृषक मुखमा मास्क समेत लगाउँदैनथे, अहिले मास्क, पन्जा, शरीर ढाक्ने कपडा लगाएर मात्र विषादी प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘यसबाट विषादी प्रयोगले आफैँलाई असर गर्ने बुझेपछि कृषकले यसको कम प्रयोग गर्ने अनुमान लगाएका छौँ ।’

उनका अनुसार, पाँचखाल नगरपालिकाभित्र ९–१० वटा मात्र विषादी बिक्रीका पसल छन् । वडा ४ मा र ६ मा दुई-दुई वटा विषादी पसल रहेको उनी बताउँछन् । गोलभेडा र आलुमा सबैभन्दा धेरै विषादी प्रयोग हुने उनको भनाइ छ।

पाँचखालका नगरप्रमुख महेश खरेल विभिन्न संघसंस्थासँगको सहकार्यमा यहाँका किसानलाई जैविक विषादीको प्रयोगमा प्रोत्साहन गरिरहेको बताउँछन् । ‘हामी पूर्ण अर्र्गानिकतर्फ उन्मुख भइरहेका छौँ,’ उनले भने, ‘हामीले दुई–तीन वर्षअगाडि कालिमाटीको प्रयोगशालामा पाँचखालको तरकारी परीक्षण गरेका थियौँ । परीक्षणले यहाँको तरकारीमा कम विषादीको प्रयोग भएको देखाएको छ।’

पाँचखालका कृषकलाई अहिले विषादीबाट भन्दा सिँचाइको अभावबाट मुक्त गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनका अनुसार, अहिले नगरपालिकाभित्र विभिन्न संघसंस्थाले खेती गरिने माटो थप नबिग्रियोस् भनी माटोलाई खुकुलो बनाउने चुना वितरण गरिएको छ । त्यस्तै, आइपिएम कृषक पाठशाला चलाइएका छन्।

विगत २५ वर्षदेखि पाँचखालमा विषादी बिक्री गर्दै आएका सरोज सापकोटा पनि पहिलेको तुलनामा अहिले विषादीको बिक्री घटेको बताउँछन् । ‘अहिले पाँचखालमा नेपाल सरकारले सूचीकृत गरेका बाहेक अन्य विषादी किसानले प्रयोग गरेका छैनन्,’ उनले भने ‘केही वर्षयता विषादी बिक्री समेत केही प्रतिशत घटेको छ, तर यो कुरा कहिल्यै बाहिर आएन।’

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्