बाँके घटनामा संलग्न तीन पक्राऊ, अरुको खोजी जारी : गृहमन्त्री
काठमाडौं, भदौ २९ः गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुुरामा भदौ २६ गते कांग्रेसको सभामा आक्रमण गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र अन्यको खोजी जारी रहेक....
काठमाडौं, भदौ २९ः गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुुरामा भदौ २६ गते कांग्रेसको सभामा आक्रमण गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र अन्यको खोजी जारी रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आइतबार बोल्दै गृहमन्त्री थापाले घटनामा संलग्न भनिएका बाँके खजुराका निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई भदौ २८ गते राति २ बजे पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र अन्यको खोजी भइरहेको जानकारी दिए ।
‘घटनामा संलग्न जोसुकैलाई नियन्त्रणमा लिई कानूनअनुसार कारवाही गर्न गृहमन्त्रालय दृढ छ । अन्यको खोजी कार्य तीव्र बनाउन गृहमन्त्रालयले सुरक्षा निकायलाई दिर्नेशन दिइसकेको छ’, उनले भने, ‘जिल्लाका सबै दलका प्रमुखहरू, सांसद्हरूसँग छलफल गरी घटनालाई सहज बनाउन स्थानीय प्रशासनले निरन्तर प्रयास गरिराखेको छ । अप्रिय घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको छ । ’
गृहमन्त्री थापाले शान्तिपूर्ण रुपमा सञ्चालित जुनसुकै कार्यक्रमहरूमा शान्तिसुरक्षाको पूर्ण प्रत्याभूतिका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिइएको बताए । उनले भने, ‘यसलाई राजनीतिक विषयको रुपमा नलिन सबैमा अनुरोध गर्न चाहन्छु । यस्ता कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई पूर्व जानकारी दिनुहुनसमेत अनुरोध गर्न चाहन्छु ।’






