सत्याग्रहसहित आन्दोलन गर्ने डा.केसीको चेतावनी
काठमाडौं, भदौ २९ : चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले सात बुँदे माग गरी सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। उनले ....
काठमाडौं, भदौ २९ : चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले सात बुँदे माग गरी सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। उनले तत्काल माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
डा.केसीले आइतबार प्रेस विज्ञप्ति जारी गरी विगतमा भएका सम्झौताअनुसार, चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा चित्त बुझ्दो जवाफ दिन माग गरेका छन्।
सरकारले चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ। तर, उनको योग्यता पुगेको छैन। डा.केसीले त्यसमा सरकारले स्पष्ट पार्न माग गरेको हुन।
त्यस्तै, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्न पनि डा.केसीले माग गरेका छन्। उनले तोकिएभन्दा बढी रकम असुल गर्ने र अवैध रुपमा संचालन भइरहेका मेडिकल कलेजलाई कानून बमोजिम कारवाही गर्न माग गरेका छन्।
डा.केसीले इलाम, पाँचथर, उदयपुरलगायत प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग गरेका छन्।
त्यस्तै, विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको कार्यक्रम सुरु गर्न माग गरिएको छ।






