चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : प्रचण्ड
काठमाडौं, भदौ २९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ सामूहिक विकास....
काठमाडौं, भदौ २९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन्।
नेपाल बुद्धिजीवी सङ्गठनले आइतबार आयोजना गरेको ‘बीआरआई संवाद’मा अध्यक्ष प्रचण्डले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेको बताए। उनले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार राखे।
‘बीआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो। यसमा सबैको सामूहिक प्रयास आवश्यक छ। यो कुनै देश महाशक्ति बन्नका लागि होइन। यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ। हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ,’ प्रचण्डले भने।
चीनले सन् २०१३ मा सुरू गरेको बीआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका एक सय ५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ।
उनले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गरे।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताए।
उनले तीनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बीआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको बताए।
कांग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बीआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताइन्। (रासस)






