Kathmandu Press

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाैं, माघ २० : ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो। 'कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ। मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक संरक्षण ऐन, २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासी जोडदार माग गर्दछौँ,' गृहमन्त्री खाँणलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

Hardik ivf

यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो। मूर्तिलाई लगाईदिएको सुनका गरगहनामेत चोरी भएको थियो  मूर्ति चोरी हुँदा सुनाकोठीका बासिन्दा मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, 'हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ।'

स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरे। उनले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरे।

मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनलगायत सहभागी थिए।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्