विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ
काठमाडौं, माघ २० : मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध...
काठमाडौं, माघ २० : मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन्। होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
दाङको घोराही उपमहानगरपालिका–१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २२ वर्षीय पवन जिसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्नेक्रममा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
बाजुरा, खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बजारबाट सोही गाउँपालिका–७ लमगाउँ बस्ने ४० वर्षीय हर्कबहादुर रावतलाई करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
से१ज ६०९ नम्बरको जिपलाई प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार रावतलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।












