छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं, माघ २० : मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकमा ना६ख ८४२५ नम्बरको बस र बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बकैया गाउँपालिका-७ बस्ने ३७ वर्षीय शिव प्रसाद सुबेदीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखा सैलुङ गाउँपालिका-५ मातादेउराली बस्ने ४६ वर्षीय थनक प्रसाद दुलाललाई थप उपचारको लागि चुरेहील अस्पताल पठाइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लमजुङको राईनास नगरपालिका-६ घामेको भिरस्थित सडकमा ग१त ४४४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अमृत सिलवालको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका-५ नयाँपुलस्थित सडकमा बा३ख ८५०० नम्बरको टिपर र बा७१प ४६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ मानेगाउँ बस्ने ३२ वर्षीय यमबहादुर तामाङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको हो। हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी नुवाकोटको लिखु गाउँपालिका-३ डुडेस्थित सडकमा बा१५च ७४०७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम शरण जर्घा मगरको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुरको कटारी नगरपालिका-३ हडियास्थित चौरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका देबिधाप बस्ने ७० वर्षीय बिनिलाल दनुवारको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी कार्य गरिरहेको छ।
बर्दियाको बासगढी नगरपालिका-३ पूर्वपश्चिम राजमार्गमा कालिकोटबाट महेन्द्रनगरतर्फ जादै गरेको ना५ख ५३८२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार २० जना पुरुष र १० जना महिला गरी ३५ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ। उनीहरूको स्थानीय कौशिल्या अस्पताल बासगढिमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्धार एवं थप अनुसन्धान गरिरहेको छ।












