Kathmandu Press

हत्या गर्न लगाउनेलाई जन्मकैदकाे फैसला

हत्या गर्न लगाउनेलाई जन्मकैदकाे फैसला

डाेटी, माघ १९ : उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ। हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले विसं २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन्। उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी सेवन गराई आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा निजलाई जन्मकैदको सजायाँ सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ।

मङ्गलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ। उक्त घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ।

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्