पत्रकार महासंघ मकवानपुरद्वारा पत्रकारलाई पेन्सन र दुर्घटना बिमा
हेटाैंडा, माघ १९ : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले रु. पाँच लाख सहयोग गरेको छ।महासंघ...
हेटाैंडा, माघ १९ : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले रु. पाँच लाख सहयोग गरेको छ।
महासंघ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु. ५ लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले भने।
नेपालमा पहिलो पटक पत्रकार महासंघ मकवानपुर शाखाले एक वर्षअगाडि कोष स्थापना गरेर मासिक रु. ४ हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ।
चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि रु. ५ लाख सहयोग गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिए। शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासङ्घ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताए।
उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उनले बताए। पेन्सन कोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्षमा रु १० लाख सहयोग गरेको बताइएको छ।
यसअघि हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको रु पाँच लाखको दरले दुर्घटना बिमा गरिसकेको छ। बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम रु एक लाख २२ हजार २७० महासंघलाई प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ।
गत वर्षदेखि उपमहानगर पालिकाले सो शाखाका सदस्यका लागि दुर्घटना बीमा गर्दे आएको छ।












