Kathmandu Press

कांग्रेसको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले भने–बाँके घटनाका दोषीमाथि कारवाही हुन्छ

काठमाडौं, भदौ २८ : गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा कांग्रेस नेता तथा कार्यकर्तालाई आक्रमण गर्नेमाथि क....

कांग्रेसको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले भने–बाँके घटनाका दोषीमाथि कारवाही हुन्छ

काठमाडौं, भदौ २८ : गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा कांग्रेस नेता तथा कार्यकर्तालाई आक्रमण गर्नेमाथि कारवाही गर्ने बताएका छन्।

शनिबार बिहान सिंहदरबारमा कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन्। उनले भने,‘हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ।’

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडै नियन्त्रणमा लिएर कारवाही गर्ने गृहमन्त्री थापाको भनाइ छ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताएका थिए। 

ललितपुर सभापति मदन अमात्य र भक्तपुर सभापति दुर्लभ थापाले आफ्नो पार्टीको कार्यक्रम बिथोल्ने मनसायका साथ घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै उनीहरुले दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने चेतावनी पनि गृहमन्त्री थापालाई दिएका थिए।

बिहीबार भएको आक्रमणमा कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए। 
 

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, भदौ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्