बसन्तपुरमा इन्द्रजात्राको राैनक, राष्ट्रपति भण्डारी पनि सहभागी (फोटो फिचर)
काठमाडौं, भदौ २७ : काठमाडौं हनुमानढोका परिसरमा लिङ्गो ठड्याइएसँगै सुरु भएको इन्द्रजात्राको आज चौथो दिन। आजैदेखि इन्द्रजात्राको मुख्य आकर्षण....
काठमाडौं, भदौ २७ : काठमाडौं हनुमानढोका परिसरमा लिङ्गो ठड्याइएसँगै सुरु भएको इन्द्रजात्राको आज चौथो दिन। आजैदेखि इन्द्रजात्राको मुख्य आकर्षण रहेको कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ।
शुक्रबार दिउँसो ४ बजे बसन्तपुरबाट सुरु भएको रथ यात्रा बसन्तपुर कुमारी घर अगाडी रहेको रथमा कुमारी, गणेश र भैरवलाई विराजमान गराइसकेपछि बसन्तपुरबाट मरु, चिकंमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थानबाट मरुटोल हुँदै फेरि बसन्तपुरमा नै पुर्याएर रथ यात्रा समापन गरिन्छ।
कुमारीको रथ यात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ बसन्तपुर पुगेर कुमारीको दर्शन पनि गरेकी छिन्।
यस्तै, काठमाडौंको परम्परागत पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनाहरु सहभागी भए। काठमाडौं महानगरपालिकाको निम्तोमा आएका चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जी, नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह लगायत सहभागी भएका थिए।

उनीहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गरेका थिए। आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य जात्रा भने भाद्रशुक्ल चतुदर्शी, पूर्णिमा र आश्विनकृष्ण द्वितीयाको दिनमा हुन्छ। यी तीनै दिन जीवित देवी कुमारीसहित गणेश र भैरवको रथ यात्रा हुन्छ।
इन्द्रजात्राका अवसरमा बसन्तपुरमा कुमारी रथजात्रा सकिनासाथ दागीं, बौमत निकालिएको छ। इन्द्रजात्राको आठै दिन लाखे, पुलिकिसी, सवभक्कु, महाकाली नाच, देवी नाच, दशअवतार आदि निकाल्ने गरिन्छ।हनुमानढोकास्थित स्वैत भैरवमा ‘हाथु हायेकेगु’ भनेर भैरवको मुखबाट प्रशादको रुपमा जाँड खसालिन्छ भने इन्द्रचोकस्थित आकाश भैरव, वटुको वाकादे भैरवलाई मन्दिरबाहिर निकाली आकर्षक रुपमा प्रदर्शन गर्ने गरिन्छ।

इन्द्रजात्राको भोलिपल्ट ‘येँयाः पुन्ही’ मनाइन्छ। इन्द्रजात्राको आठै दिन बसन्तपुर कुमारी घर अगाडि रहेको मन्दिरमा बेलुका दशअवतार प्रदर्शन गरिन्छ। इन्द्रजात्राको अन्तिम दिन हनुमानढोकामा ठड्याइएको ‘यःसिं’लाई ढाली जात्राको समापन गरिन्छ। यःसिं ढालेपछि यसलाई तानेर टेकु दोभानमा पुर्याउने गरिन्छ।
यो वर्ष लिंगो ढाल्ने साइत असोज १ गते साँझ ५ बजेर ३५ मिनेट जाँदा छ।










